काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सहकारीको अनुगमनका लागि छुट्टै संयन्त्र बनाउन लागिएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को २३ औं साधारणसभामा बोल्दै महतले सहकारी अनुगमन संयन्त्र निर्माणको कार्य अन्तिम चरण पुगेको बताएका हुन् । सहकारीमा देखिएको समस्या समाधानका लागि नियमक निकायको कार्यसम्पादन सन्तोषकजनक भएपनि संयन्त्र कम भएका कारण सहकारी अनुगमन प्रभावकारी वन्न नसकेको बताए ।
‘अहिले सहकारी विभाग र राष्ट्र बैंकले अनुगमन कार्य गर्दै आएका छन् तर सहकारीको संख्या अनुसार संयन्त्र पर्याप्त छैन ।’ मन्त्री महतले भने, ‘ अहिले भैरहेको विकेन्द्रित सहकारीको अनुगमनलाई केन्द्रीकृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ ।’
सहकारीलाई बैंकिङ क्षेत्रजस्तो गरी सञ्चालन गर्न खोजेकै कारण सहकारीमा समस्या आएको उनको भनाई थियो । कतिपय सहकारी समस्यामा हुनु बिग मनी भएको चर्चा गर्दै मन्त्री महतले सहकारीको आवरणमा बैंक चलाउन कसैलाई छुट नभएको बताए । ‘सहकारीका नाममा कमर्सियल बैंकको काम भयो, त्यसकारण ती सहकारी समस्यामा परेका हुन्’ उनले भने । सहकारीमा सुशासन ल्याउन सहकारीको सिद्वान्तअनुरुप सञ्चालन हुन आवश्क रहेको उनको भनाई थियो ।
सहकारी नियमनको अभावमा विकृति आएकोले सहकारीका केन्द्रिय संघहरुले आफ्ना सदस्यहरुको अनुगमन गर्नुपर्नेमा जोड दिए । ‘सेल्फ पोलिसी लिएर आफ्ना सदस्यको अनुगमन गर्दा सहकारीमा आत्मअनुशासन आउन सक्छ’ महतले भने । हालै घोषणा गरिएका नगर क्षेत्रका सहकारीको तत्काल कर नलाग्ने र आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको उनले बताए । बचत तथा ऋणबाहेकका अन्य सहकारीलाई करमुक्त समेत गरिएको उनको भनाई छ ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले हरेक सहकारी व्यवसाय उन्मुख हुनुपर्नेमा जोड दिए । वडालले सहकारी संस्थाको प्रकृतिनै सेवा प्रदान गर्ने भएकाले सवै सहकारी कुनै न कुनै उत्पादनमा जोडिनुपर्ने बताए ।
सभासद् राजेन्द्र पाण्डेले सहकारी विरोधी मान्छेहरु चलबलाई रहेकोले सहकारीमा आर्थिक सू—शासन कायम हुन नसकेको बताए । नेफ्स्कुनका महासचिव परितोष पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै बचत तथा ऋण सहकारी परिचालन गर्न छुट्टै ऐन आवश्यक भएको बताए । छुट्टै ऐन नआए सहकारी ठूलो दुर्घटनामा पर्न सक्ने चेतावनी समेत दिए । नेफ्स्कुनले सहकारी एकीकरण तथा अनुगमनमा जोड दिदैं आएको पौडेलको भनाई थियो ।
नेफ्स्कुनमा हाल १८ लाख बढी सदस्य आबद्घ छन् । ७१ जिल्लाका २ हजार १ सय ४० सहकारी संस्था सदस्य रहेका छन् ।
उत्कृष्ट सहकारी पुरस्कृत
नेफ्स्कुनले उत्कृष्ट साकोसको रुपमा दोलखाको मिलिजुली बचत तथा ऋण सहकारीलाई पुरस्कृत गरेको छ । त्यस्तै महिला सहकारीमा नारी कल्याण महिला बचत तथा ऋण सहकारी संस्था भक्तपुरलाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट जिल्ला संघका रुपमा मकवानपुर जिल्ला बचत संघलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया