वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साढे १७ हजार लगानीकर्ताको मात्र डिम्याट खाता, माघदेखि सीडीएस लागू नहुने सम्भावना

अर्थटुडे
२०७१ पुष ६, आईतवार
काठमाडौं ।  वाणिज्य बैंकहरूको सेयर माघ २ गतेदेखि पूर्णरूपमा केन्द्रीय निक्षेप प्रणालीबाट कारोबार हुने सम्भावना टर्दै गएको छ। डिम्याट खाता खोल्ने लगानीकर्ता अहिलेसम्म जम्मा १७ हजार तीन सय १५ जनामात्र पुगेका छन्।
cdsc_dematसेयरका लगानीकर्ता १२ लाखभन्दा बढी भएकामा पुस पहिलो सातासम्म जम्मा करिब १७ हजारजना लगानीकर्ताले मात्र डिम्याट खाता (विद्युतीय प्रणालीबाट कारोबार गर्न खोलिने खाता) खोलेकाले पूर्वनिर्धारित समयमा पूर्ण रूपमा विद्युतीय प्रणालीबाट कारोबार गर्ने सम्भावना लगभग टरेको  आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
चार अर्बभन्दा बढी सेयर कित्ता डिम्याट (अभौतिकीकरण) गर्नुपर्नेमा अहिलेसम्म जम्मा ६८ लाख कित्ता सेयरमात्र डिम्याट गरिएको छ। कुल दुई सय ४५ कम्पनी सूचीकृत भएकामा ७७ वटा कम्पनीमात्र सीडीएसमा दर्ता भएका छन्।
लाखौं लगानीकर्ताको खात खोल्नका लागि लामो समय लाग्ने देखिन्छ। कम्तीमा पनि दुईतीन लाख जनाको खाता नखोलेसम्म सीडीएस सञ्चालनमा ल्याउनै नसकिने सीडीएस एन्ड क्लियरिङ कम्पनी र धितोपत्र बोर्डका अधिकारीसमेत स्वीकार गर्छन्।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड कम्पनीले पहिलो चरणमा माघ २ गतेदेखि वाणिज्य बैंकको सेयर अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट र त्यसपछि क्रमश: गर्दै आगामी वैशाख २ गतदेखि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीको सेयर सीडीएस प्रणालीबाट कारोबार गर्ने यसअघि योजना बनाएको थियो।
सेयर नामसारी, लगानीकर्ताको खाता खोल्ने तथा लाभांश उपलब्ध गराउने डीपी (डिपोजिटरी पार्टिसिपेन्ट) को सदस्यता लिने क्रम पनि अहिलेसम्म पूरा भएको छैन। डीपीको सदस्य बनिसकेका कम्पनीले उपत्यकामा लगानीकर्ताको खाता खोलिदिन सुरु गरे पनि उपत्यकाबाहिरका अधिकांश क्षेत्रमा सेवा पुर्‍याउन सकेका छैनन्।यस कारण बाहिरका लगानीकर्ताले डिम्याट खाता (अभौतिक खाता) खोल्नै पाएका छैनन्। राजधानीबाहिरका प्रमुख सहरमा यो सेवा विस्तार नभएसम्म सीडीएस पूर्णरूपमा कार्यान्वयनमा आएको मान्न मिल्दैन।

पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले माघ २ गतेदेखि वाणिज्य बैंकको सेयर सीडीएस प्रणालीबाट कार्यान्वयन गर्न भइरहेको तयारीका बारेमा भरपर्दो विवरण बुझाउन सीडीएस एन्ड क्लियरिङ कम्पनीलाई निर्देशन दिए पनि सीडीएसले अहिलेसम्म भरपर्दो योजना पेस गर्न सकेको छैन।
सीडीएस प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन हालै धितोपत्र बोर्ड, सीडीएस र स्टक एक्सचेन्जका अधिकारी सम्मिलित ‘क्यापिटल मार्केट कोर्डिनेसन कमिटी’ गठन गरिएको छ। केही दिनभित्रै कमिटिको बैठक बसेर यसबारेमा निर्णय गरिने सीडीएस एन्ड क्लियरिङ कम्पनी लिमिटेडले जानकारी दिएको छ।
सीडीएस एन्ड क्लियरिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या न्यून भएको र डीपी सदस्यता लिएका कम्पनीले उपत्यकाबाहिर सबै ठाउँमा सेवा पु:याउन नसक्दा तोकिएको सीडीएस पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन कठिन हुने अवस्था आएको बताए। ‘क्यापिटल मार्केट कोअर्डिनेसन कमिटीको बैठक केही दिनभित्रै बसेर कसरी कार्यान्वयन गर्ने भन्नेमा निक्र्योलमा पुगिनेछ’, उनले भने।
सीडीएसले वाणिज्य बैंक र ब्रोकर कम्पनीलाई डीपीको सदस्यता दिएको छ। वाणिज्य बैंकले शाखा कार्यालयमार्फत र ब्रोकर कम्पनीले रिमोट वर्क स्टेसनमार्फत उपत्यकाबाहिर डिम्याट खाता खोल्ने व्यवस्था गर्नसक्ने भए पनि आवश्यक पूर्वाधार विस्तार गर्न नसक्दा पोखरा तथा नारायणगढमा बाहेक अन्य प्रमुख सहरी क्षेत्रका लगानीकर्ताले यो सुविधा पाउन सकेका छैनन्। विराटनगर, धरानजस्ता प्रमुख सहरमा एउटा पनि कम्पनीले डिम्याट खाता खोलिदिने व्यवस्था गर्न सकेका छैनन्।
पुँजी बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले माघ २ गतेदेखि सीडीएस कार्यान्वयनमा ल्याउन केकस्ता तयारी भएका छन् भनेर सीडीएस एन्ड क्लियरिङ कम्पनीसँग योजना मागे पनि प्राप्त हुन नसकेको बताए। ‘अहिलेसम्म भरपर्दो योजना आएको छैन’, उनले भने।
सीडीएस एन्ड क्लियरिङ कम्पनीले माघ २ गतेदेखि वाणिज्य बैंक र त्यसपछि क्रमश: गर्दै वैशाख २ गतेदेखि स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीको सेयर विद्युतीय प्रणालीबाट कारोबार गर्न पेस गरेको योजनामा बोर्डले अहिलेसम्म स्वीकृति दिएको छैन। कार्यान्वयन हुने भरपर्दो आधार नभएकाले नै बोर्डले यसलाई अनुमति नदिएको हो।
सीडीएस कार्यान्वयनमा आउने समयबारे अनिश्चितता बढ्दै जाँदा पुँजी बजारमा यसको नकारात्मक प्रभाव देखिन थालेको छ। सीडीएस कार्यान्वयनमा आएपछि सेयर कारोबार गर्दा कागजी प्रणालीको अन्त्य हुनेछ। कम्प्युटर प्रणालीबाट सेयर किनबेच गर्न पाइने, लाभांश लगानीकर्ताकै खातामा जम्मा हुने व्यवस्था हुन्छ। बैंक खातामा नगद जम्मा गर्दा र झिक्दा प्रणालीबाट आफैं घटबढ भएजस्तै सेयर किनबेच गरेपछि लगानीकर्ताको खातामा सोहीअनुसार किन्दा बढ्ने र बेच्दा घट्ने व्यवस्था हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ