वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्ताको विश्वास गुमाउँदै नेपाली सेयर बजार-रोशन पोखरेल

अर्थटुडे
२०७१ पुष ६, आईतवार

अन्तर्राष्ट्रिय स्तरमै लगानीको ठूलो र आकर्षकमध्येको एक मानिने सेयर बजार नेपालमा वि.सं १९३७ मा विराटनगर जुट मिल तथा नेपाल बैंक लिमिटेडको सेयर बजारमा बिक्री सुरु भएको मानिन्छ । स्थापनाको लामो कालखण्ड व्यतित भइसकेको हालको अवस्थासम्म पनि बजारले प्राप्त गरिसक्नुपर्ने परिपक्वता हासिल नहुनु आफैंमा आश्चर्यजनक र विडम्बनापूर्ण तथ्य हो । सानाठूला गरी १५ लाख जति सक्रिय तथा निष्क्रिय लगानीकर्ता रहेको विश्वास गरिने नेपाली सेयर बजार नियामक निकायको फितलो अनुगमन तथा लगानीमैत्री नीति नियमको अभावमा अनिर्णयको बन्दी भइरहेको छ । विना कुनै कारण कहिले बजार ह्वात्त माथि जाने कहिले ह्वात्त तल झर्ने प्रवृत्ति देखिएकोले कतै नेपाली सेयर बजार पुँजीबजार नभएर जुवाको खालमा त रुपान्तरित भइरहेको छैन ? लगानीकर्ताहरु झस्किन्छन् । सेयर बजारमा लगानीको पहिलो शर्त हो लगानीकर्ताको बजार माथिको विश्वास । सुझबुझपूर्ण तवरले गरिएको लगानी डुब्दैन भन्ने विश्वासले बजारमा लगानी गरिने हो । तर नेपाली सेयर बजारमा साना लगानीकर्ताले दिन प्रतिदिन बजारप्रतिको आफ्नो विश्वास गुमाउँदै गएको देखिन्छ । ठूला लगानीकर्ताको बजारमाथिको अस्वाभाविक पकड र प्रभावलाई यसको सबैभन्दा ठूलो कारण मान्न सकिन्छ । 

share losing

फितलो अनुगमन र नियमनको अभावमा पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति साना र पहुँच नपुग्ने लगानीकर्तामाथि सबैभन्दा घातक सिद्ध भएको छ । यस्तै प्रवृत्तिको कारण साना लगानीकर्ता सदैव मारमा पर्दै आएको तथ्य कसैबाट लुकेको छैन । हाम्रो जस्तो बजारको सेन्टिमेन्टको साथै प्राविधिक पक्ष कम मात्र बुझेका कमजोर लगानीकर्ता भएको बजारमा नियामक निकायको कमजोर उपस्थितिले झन् अस्वाभाविक चलखेललाई बढाइरहेको छ । नेपाली सेयर बजारमा ठूला लगानीकर्ताले समय–समयमा निराधार हल्ला चलाएर होस् वा सेयर बजारसँग गोरु बेचेको साइनो–सम्बन्ध नहुने घटनाहरुको हवाला दिएर होस् सेयर बजारलाई आफूले चाहेको दिशातिर मोड्नसक्ने ल्याकत राख्दछन् । जसलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिन्न । घट्नु बढ्नु बजारको धर्म हो । सेयर बजार जोखिमपूर्ण बजार पनि हो । तर कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक वा लगानीकर्ताको मनोविज्ञानसँग सम्बन्धित कारणविना देखिने अस्वाभाविक उतारचढाव नियोजित तवरले गराइएका हुनसक्छन् । 

अझ हाम्रो जस्तो अत्यधिक भ्रष्टाचार हुने मुलुक जहाँ प्रश्नपत्रसमेत बिक्री हुन्छ भने सेयर बजारमा मिलेमतोको आधारमा अस्वाभाविक चलखेल हुन्छ भन्ने कुरा पत्याउन कुनै आइतबार कुर्नुपर्दैन । नेपाली सेयरबजार पूर्वानुमान गर्न कस्ता–कस्ता मै हुँ भन्ने विज्ञलाई समेत हम्मेहम्मे पर्ने गरेको देखिन्छ । नेपाली सेयर बजारको दिशा नै कहिले उल्टो हुन्छ कहिले सुल्टो भन्न सकिन्न । यस्तो अवस्थामा बजारले नयाँ लगानीकर्ता पाउनु त कता हो कता भएका लगानीकर्तासमेत पलायन हुने स्थिति देखापर्न थालेको छ । सरकारले जबसम्म लगानीकर्ता सामु विश्वास गर्नसकिने कुनै ठोस आधार प्रस्तुत गर्नसक्दैन तबसम्म सबै सूचकहरु सकारात्मक नै रहेको हवाला दिँदैमा सेयर बजारको स्थिति सुध्रनेवाला छैन । बजारको अस्थिरतामा धेरथोर साना लगानीकर्ता आफैं पनि जिम्मेवार रहेका छन् । विना कुनै सामान्यज्ञान लहलहैमा लागेर सेयरबजारमा छिर्ने ठूलो जमातको कारण पनि सेयरबजार बढी अस्थिर भएको हो ।  

यस्ता लगानीकर्तामा पर्याप्त सुझबुझ र दक्षता त हुँदैन नै लगानीकर्तामा हुनुपर्ने सबैभन्दा ठूलो योग्यता धैर्य पनि यिनमा हुँदैन । केही हजार कमाउने आशा राख्नेले केही हजार गुमाउने पनि आँट राख्न सक्नुपर्दछ । यस किसिमका लगानीकर्ताहरु जब बजार उकालो लाग्दै सन्तृप्त हुने अवस्थामा हुन्छ तब बजारतर्फ आकर्षित भई खरिद गर्ने हुनाले सूचक आफ्नो स्वाभाविक गतिभन्दा बढी माथितर्फ हुत्तिन्छ । अनि जब बजार घट्न सुरु हुन्छ, यिनै लगानीकर्ता अधैर्य भई आफूले होल्ड गरेको सेयर अझ घट्ने हो कि भनी बेच्नतर्फ तँछाडमछाड गरेर लाग्दछन् जसले घटिरहेको बजार अझ तीव्र गतिले ओरालो लाग्न सुरु गर्दछ । चन्द्रलोक यात्रा नै छुट्लाझैं गरी प्रतिफलको आँकलन नै नगरी जति पनि मूल्यमा सेयर खरिद गर्न तयार हुने र प्रलय नै आउलाझैँ गरी अन्धाधुन्ध बिक्रीमा उद्दत रहने यस्तै “चिकन हार्टेड” लगानीकर्ताको कारण अस्थिरतालाई अझ बढी बल पुगेको हो । जसको फाइदा धमिलो पानीमा माछा मार्न पल्केकाले उठाइरहेका छन् । जसको घानमा पिसिँदै अल्पसंख्यक, बजारलाई धेरथोर बुझेका लगानीकर्ताहरु बजारप्रतिको आफ्नो विश्वास गुमाउन बाध्य छन् । यस्तो हानिकारक प्रवृत्तिले नेपाली सेयर बजारको भविष्य अनिश्चित देखाइरहेको छ । राष्ट्रको आर्थिक स्वस्थताको सूचक मानिने पुँजीबजारको यो गति विडम्बनापूर्ण छ । यसप्रति सरोकारवाला निकाय, लगानीकर्ता सबै गम्भीर हुनु जरुरी देखिन्छ । सेयर बजारको पूर्वाधार विकासमा लगानी गर्नेदेखि लिएर हालै मात्र सुरु गर्न लागिएको सीडीएसको पूर्ण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन कम्पनीको विकास, अनलाइन ट्रेडिङ आदिको व्यवस्था गर्दै महत्वपूर्ण सूचना चुहावट, ¥याम्पिङ, म्याचिङ, पुलिङ, इन्साइडर ट्रेडिङजस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने समयसापेक्ष नीतिनियमको खाँचो टड्कारो रुपमा देखिएको छ । 

साथै लगानीकर्ताले पनि सेयर बजारमा लगानी गर्नुपूर्व बजार र यसका विविध पक्षहरुबारे बुझेर मात्र लगानी गर्नुपर्छ । पर्याप्त विश्लेषण गरेर मात्र लगानी गर्ने, हल्लाको पछि मात्र नलागेर आफ्नो विवेकको प्रयोग गर्ने, धैर्य हुने गर्नुपर्छ । एउटा असल लगानीकर्ताले बजार बढेको घटेको दुवै अवस्थामा अवसर देख्न सक्नुपर्छ । लगानीमा लगानीको प्राविधिक पक्षभन्दा लगानीकर्ताको मनोविज्ञानलाई बढी हावी हुन दिनु घातक हुन्छ । जसप्रति लगानीकर्ता सदैव चनाखो हुनुपर्दछ । सरकारी तवरबाट पनि लगानीमैत्री वातावरणको निर्माण गर्दै बजारको सबैभन्दा ठूलो आधारको रुपमा रहने विश्वासलाई खण्डित हुन नदिनु नै आजको आवश्यकता हो । सिक्ने उमेरका भाइबहिनीहरुले पुँजीबजारको बारेमा कहीँकतै सुन्दा वा पढ्दा, सेयर बजार र जुवाको खाललाई एकै रुपले नहेरुन् ।   

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ