काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले २ अर्व रुपैंया बरावरको साधारण सेयर निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित सेयर २ करोड कित्ता हुनेछ । साधारण सेयर निष्काशनका लागि कम्पनील नागरिक लगानी कोषलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनी र कोषबीच आइतबार प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । शेयर निश्काशन अनुमतिका लागि धितोपत्र बोर्डमा समेत निबेदन दिईसकिएको कम्पनीले जनाएको छ ।
१० अर्व रुपैंया कम्पनीको चुक्ता पूँजी रहेकोमा आठ अर्व रुपैंया संस्थापकहरुको लगानी रहेको छ । कम्पनीले आफ्नो पूँजीबाट ६ वटा योजनामा लगानी गरेको छ भने बाँकी रकम बैंकमा राखेर व्याज आम्दानी गरिरहेको छ ।
जलविद्युत्मा मात्रै लगानी गर्न सरकारले स्थापना गरेको यो कम्पनीले ०६९ साउनदेखि कारोबार थालेको हो । हाल कम्पनीले बैंकसँगको सह–वित्तीयकरण (कन्सोर्टियम) मा जलविद्युत् आयोजनामा लगानी गरिरहेको छ ।
हालसम्म कम्पनीले ६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । विश्व बैंकबाट प्राप्त ४० मिलियन डलर पनि कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ‘ए’ मा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल–भारत अन्तरदेशीय प्रसारण–लाइन निर्माण गर्ने पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) मा १४ प्रतिशत सेयर लगानी गरेको छ ।
कम्पनीमा सरकारको ५ अर्ब, नागरिक लगानीकोष, बिमा संस्थान र कर्मचारी सञ्चयकोषको १–१ अर्ब गरी ८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।
कम्पनीले यसअघि लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
प्रतिक्रिया