काठमाडौं । नेपाली बैंकहरुले चीनको जुनसुकै बाणिज्य बैंकहरुमा चिनियाँ मुद्रा युआनमा खाता खोली कारोबार गर्न पाउने भएका छन् । चिनसँगको व्यापार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले युआनमा कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।
यसअघि चिनसँगको कारोबारका लागि डलरमा खाता खोल्नुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य र विकास बैंकहरुले युआनका कारोबार गर्न सक्ने व्यवस्था गरेको हो ।
निर्देशनमा नेपालका बाणिज्य तथा विकास बैंकहरुले चीनका जुनसुकै बाणिज्य बैंकमा चिनियाँ मुद्रामा खाता खोल्न सक्नेछन् । यस्तै कारोबारका लागि डलर बिक्री गरेर चिनियाँ मुद्रा खरिद गरी चिनियाँ बैंकमा जम्मा गर्न सक्नेछन् ।
यस्तै अन्तर्राष्ट्रिय व्यापारका भुक्तानी सम्बन्धि प्रचलनहरुभित्र रहेर बैंक तथा वित्तीय संस्थाहरुले नेपाली तथा चिनियाँ व्यापारिक र्फमहरुबीचको व्यापारको लागि एलसी, ड्राफ्ट, टिटीलगायतका माध्यमबाट हुने भुक्तानी चिनियाँ मुद्रामा गर्न सकिने व्यवस्था गरेको छ । नेपाली निर्यातकर्ताले चिनमा गर्ने बस्तु तथा सेवा निर्यात तथा चिनबाट प्राप्त गर्ने ऋण, प्रत्यक्ष वैदेशिक लगानी वापत प्राप्त हुने रकम पनि युआनमै स्वीकार गर्न सक्ने भएका छन् ।
राष्ट्र बैंकले चिनियाँ मुद्रामा जारी भएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिने व्यवस्था गरिदिएको छ । यस्तो रकमको हिसाव मिलान चीनस्थित आफ्नै युआन खाताबाट गर्न सकिने छ । यसैगरी अध्ययनका लागि चिन जाने विद्याथीहरुले पनि युआनमै सटही सुविधा पाउने व्यवस्था गरिएको छ ।
युआन कारोबारका लागि राष्ट्र बैंक र पिपुल्स बैंक अफ चाईननाबिच ०५९ साउनमा सम्झौता भएको थियो । यसैगरी पुस ८ गते थप सम्झौता भएपछि केन्द्रीय बैंकले युआन कारोबारको लचिलो नीति लिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले नेपाल र चीनबिच व्यापारिक कारोबार बढ्दै गएको, नेपालमा चिनियाँ पर्यटकहरु बढ्न थालेको र चीन अध्ययनका लागि जाने विद्यार्थीको सख्या समेत बढेकाले युआन कारोबार सजिलो बनाइएको बताए ।
“अब चिनसँग डलरमा कारोबार गरेमा मात्र सम्भव छैन” श्रेष्ठले भने, चिनसँगको कारोबार बढेपछि युआनमा कारोबार गर्न सकिने व्यवस्था गरिएको हो ।” यो व्यवस्थाले चिनसँग कारोबार गर्ने व्यापारी, अध्ययन गर्न जाने विद्यार्थी र नेपाल घुम्न आउने पर्यटकलाई सजिलो हुनुका साथै नेपाल र चिनबिच बढ्दो व्यापारघाटा कम गर्न पनि सजिलो हुने उनले दावी गरे ।
केन्द्रीय बैंकका अनुसार ०७१ कात्तिकसम्ममा चीनबाट आयात ४९.५ प्रतिशतले बृद्वी भएको छ । चीनबाट दुरसञ्चारका उपकरण तथा पाटपुर्जा, भिडियो टेलिभिजन र पाटपुर्जा, रासायनिक मल र अन्य मशिनरी आयात उच्च बृद्वी भएको छ । यसैगरी चिनतर्फको निर्यात भने कात्तिकसम्ममा ८१.९ प्रतिशतले बढेको छ । नेपालबाट प्रशोधित छाला, उनी गलैचा, हस्तकलाका सामान, तयारी पोशाकलगायतका वस्तहरुका निर्यातमा उच्च वृद्वी भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया