काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्नका लागि स्वीकृति पाएको छ । नेपाल धितोपत्रबोर्डले आयोजनालाई पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण सेयर जारी गर्न स्वीकृति दिएको हो ।
सो आयोजनालाई दुई महिनाभित्र पहिलो चरणको तीन करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो । आयोजनाले प्रबन्ध मिलाएमा केही सातामा नै सेयर निष्कासन गर्न सक्ने छ ।
आयोजनाले दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्ने छ भने कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता जारी गर्ने छ ।
त्यसैगरी आयोजनाले आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर दिने छ ।
आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । कम्पनीले निश्कासन गर्ने कुल सेयरमध्ये ३४ प्रतिशत सेयर पहिलो चरणमा जारी गर्न लागेको हो ।
बाँकी सर्वसाधारणका लागि छुट्याईको १५ प्रतिशत सेयर पछि निष्कासन गरिने छ । प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई जारी गरिने सेयर दोस्रो बजारमा तीन बर्षपछि मात्र कारोबार गर्न पाइने छ ।
२०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट हो । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोशीको नयाँ पुँजी संरचना अनुसार चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ ।
तामाकोशीको संस्थापकका रुपमा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषसँग २÷२ प्रतिशत सेयर छ ।
प्रतिक्रिया