काठमाडौं । आज माघे संक्रान्ति । घिउ, चाकु, तरुल र खिचडीको पर्व । यस अवसरमा देशभर १५ करोड रुपैयाँभन्दा बढीको चाकु र तरुलको कारोबार हुने गरेको छ । माघे संक्रान्ति सबैजसो समुदायले मनाउन थालेकाले चाकु र तरुलको व्यापार बर्सेनि बढ्दै गएको सम्बद्ध व्यवसायी बताउँछन् । यो चाड जाडो याममा पर्ने भएकाले चिसोबाट बच्नसमेत चाकु खाने गरेको पाइन्छ ।
टोखामा उत्पादित चाकु देशभर पुग्ने गरेको छ । सादा, बाहिरी\भित्री\सुत्केरी मसलायुक्त, खुवाको र झोललगायत विभिन्न प्रकारमा चाकु उत्पादन गरिन्छ । चाकुलाई स्वादिलो बनाउन काजु, पेस्ता, दाख, नरिवल, बदाम, ल्वाङ, सुकिमेललगायत मसला प्रयोग गरिन्छ ।
यो पर्वमा धेरै खाइने अर्को तरुल हो । संक्रान्ति आउन १ साताअघिदेखि नै तरुलको व्यापार हुन्छ । यो अवधिमा उपत्यकामा मात्रै करिब साढे ३ करोड रुपैयाँको तरुल कारोबार हुने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए । “७ देखि १० दिनमा ९ देखि ११ सय मेट्रिकटन तरुल खपत हुने हाम्रो अनुमान छ,” उनले भने ।
तरकारी बजारमा सामान्यतया २४ देखि ३२ रुपैयाँ (थोक)मा १ किलो तरुल पाइन्छ । खुद्रामा किन्दा ५० रुपैयाँभन्दा बढी पर्छ । लोकल (वन) तरुल प्रतिकिलो १५० र रातो तरुल ६० देखि ८० रुपैयाँ (थोक)मा कारोबार हुने गरेको घिमिरेले बताए ।
उत्पादकले टोखाबाट औसतमा चाकुको गुणस्तरअनुसार प्रतिकिलो १०५ देखि १२५ रुपैयाँसम्ममा बिक्री गर्छन् । तर, सबै किसिमका मसला प्रयोग गरिएको चाकु र खुवाको चाकुलाई भने १६० रुपैयाँ पर्छ । व्यवसायीका अनुसार तिलको लड्डु प्रतिकिलो २ सय रुपैयाँभन्दा बढी पर्छ । संक्रान्तिका लागि टोखाबाट मात्रै ३ करोड रुपैयाँभन्दा बढीको चाकु बिक्री हुने गरेको व्यवसायी बताउँछन् । हिजोआज टोखामात्र नभई भक्तपुर, पाटन, असनलगायत स्थानमा समेत चाकु उत्पादन हुने गरेको छ ।
उपत्यका भित्रिने तरुलमध्ये सबैभन्दा धेरै सर्लाहीबाट आउँछ । त्यसबाहेक सुनसरी, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेलगायत जिल्लाबाट ल्याइन्छ । धेरै रुचाइने रातो तरुल भने नवलपरासीबाट भित्र्याइन्छ ।
प्रतिक्रिया