काठमाडौं । तपाईले माघ महिनामा विवाहको योजना बनाउनु भएको छ भने तपाईले सुनका गरगहनाको लागि थप बजेट छुट्याउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेसँगै नेपाली बजारमा सुन महंगो भएको छ । बजारमा दुई दिनमा सुनको भाउ १६ सय रुपैयाँ महंगो भएको छ भने तीन महिनापछि सुनको भाउ प्रतितोला ५३ हजार माथी उक्लिएको छ । विश्लेषकहरुले सुनको भाउ अझै उकालो लाग्ने बताएका छन् ।
बजारमा गत सातासम्म सुुनको भाउ प्रतितोला ५२ हजार रुपैयाँ हाराहारीमा कारोबार भइरहेको थियो । साताको अत्यतिर सुन एक्कासी उकालो लागेको हो । विहिबार प्रतितोला ५२ हजार २ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन ११ सय रुपैयाँ महंगो भएको थियो ।
साताको पहिलो दिन आईतबार सुन ५ सय मंहगो भई ५३ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन सस्तो भएको भन्दै लगानीकर्ता सुनतर्फ ओईरिएपछि भाउ उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन अझै महंगो हुने विश्लेषण भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव माघमा सुन अझै महंगो हुने प्रक्षेपण गरिएको छ ।
बैशाख, जेठ, असोज, मंसिर, माघ लगायतका महिनामा विवाहको लगन पर्ने भएकाले सुनको बिक्री बढ्ने गर्छ । व्यवसायीले पनि यी महिनाहरुलाई सिजनको रुपमा लिने गर्छन । हिन्दु परम्परामा विवाहमा सुनका गरगहना अनिवार्य मानिन्छ ।
यसैगरी सुनको भाउ पछ्याउदै बजारमा चाँदी पनि उकालो लागिरहेको छ । गत सातारभरमा १० रुपैयाँ बढेर भई प्रतितोला ७ सय २० रुपैयाँ कायम चाँदी आईतबार २० रुपैयाँ महंगो भई प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया