पोखरा । लेखापरिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशनका (अडान) का अध्यक्ष मोहनराज रेग्मीले लेखापरीक्षणलाई अपव्याख्या गरी लेखापरीक्षकलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । आईतबार पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय भेलामा बोल्दै उनले भने ः लेखापरीक्षकले व्यवस्थापनले प्रस्तुत गरेको प्रतिवेदनलाई टिप्पणीसहित प्रमाणीकरण गर्ने मात्रै जिम्मेवारी हो । यसलाई सही ढंगबाट बुझन र लागु गर्न नसक्दा बुझाई र व्यवहारमा समस्या रहेको छ ।
कतिपय लेखापरीक्षकले लेखापरीक्षण आचारसंहिता र प्रक्रियालाई आत्मसात नगर्दा समस्या भएको बताउदै त्यसका लागि अडानले आचारसंहितामार्फत पेशालाई मर्यादित बनाउने प्रयास भई रहेको रेग्मीले बताए ।
भेलामा केन्द्रीय बरीष्ठ उपाध्यक्ष सुर्य अधिकारी, केन्द्रीय उपाध्यक्ष एवम् आइक्यानका पूर्व पार्षद कृष्ण पौडेल, केन्द्रीय उपमहासचिव एवम् आइक्यान पार्षद बद्रि भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए ।
भेलाले आगामी फागुन ८ र ९ गते पोखरामा हुने तेस्रो राष्ट्रिय परिषद्का लागि उपाध्यक्ष विष्णुहरि तिमल्सेनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल तयारी समिति गठन गरेको छ । शिव बरालको संयोजकत्वमा आर्थिक समिति, चन्द्र सुवेदीको संयोजकत्वमा खाद्य, बिलबहादुर भुजेलको संयोजकत्व्मा आवास, केशबहादुर केसीको संयोजकत्वमा प्रचार, विष्णु बरालको संयोजकत्वमा हल व्यवस्थापन, रुद्रनाथ पौडेलको संयोजकत्वमा स्वयम्सेवक परिचालन, चन्द्रबहादुर थापाको संयोजकत्वमा स्वागत गेट तथा र्याली, तारा श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार, लोकराज पौडेलको संयोजकत्वमा स्वास्थ्य र राजेन्द्र पौडेलको संयोजकत्वमा दर्ता तथा उपस्थिति उपसमिति गठन गरेको छ ।
पोखराबाट कृष्ण पौडेल
प्रतिक्रिया