काठमाडौं । मलेसियाबाट नेपालमा सिधा उडान गर्ने एयरलाइन्सको संख्या थपिएको छ । मालिन्दो एयर इन्टरनेशनलले माघ २३ गतेदेखि मलेसियाबाट नेपालमा उडान सुरु गर्ने भएपछि मलेसियाबाट नेपालमा सिधा उडान गर्ने एयरलाइन्सको सख्या थपिएको हो ।
हाल नेपालमा मलेसियाबाट एयर एशिया र मलेसियन एयरलाइन्सले उडान भर्दै आएका छन भने नेपाल वायुसेवा निगमले नेपालबाट मलेसिया नियमित उडान भर्दै आएको छ ।
बुधबार मालिन्दोको नेपालका लागि जनरल सर्भिस अपरेटर (जीएसए) यति इन्टेन्सिभ ट्राभल्सले पत्रकार सम्मेलन गरी माघ २३ गतेदेखि सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।
यति इन्टेन्सिभका म्यानेजिङ डाइरेक्टर नोर्बु शेर्पाका अनुसार मालिन्दोले नयाँ बोइङ ७३७–९०० विमानबाट क्वालालम्पुर-काठमाडौं दैनिक उडान गर्नेछ ।
मालिन्दो एयरमा मलेसिया र इन्डोनेसियाका व्यापारीहरुको लगानी रहेको छ । क्वालालम्पुर-काठमाडौंको एकतर्फी प्रवर्द्धनात्मक भाडादर करिव २० हजार रुपैयाँको हाराहारीमा रहने यति इन्टेन्सिभले जनाएको छ ।
कम्पनीका अनुसार बिजनेस श्रेणीमा ४५ इन्चको र इकोनोमी श्रेणीमा ३२ इन्चको फरक दुरीमा सीटहरु रहेका छन् । यात्राका बेलामा मनोरञ्जन प्रदान गर्न हरेक सीटमा एकल यात्रु टच स्क्रिन टिभी जडान गरिएको छ भने विमानमा अक्टोबर महिनादेखि वाईफाई समेत उपलब्ध गराउने कम्पनीले बताएको छ ।
कम्पनीले क्वालालम्पुरबाट काठमाडौं उडानमा बिजनेस श्रेणीका हवाई यात्रुहरुलाई ४० केजीसम्म र इकोनोमी श्रेणीबाट यात्रा गर्नेहरुका लागि दुबै उडानमा ३० केजीसम्मको सामान बोक्ने सुविधा प्रदान गर्ने भएको छ ।
प्रतिक्रिया