काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले राष्ट्रिय बाणिज्य बैंकको साधारण सेयर जारी गर्ने अनुमति दिने सम्बन्धमा सरकार सकारात्मक रहेको बताएका छन् ।
बैंकको शनिवार आयोजित स्वर्ण महोत्सवका अवसरमा बोल्दै डा.महतले बैंकको सेयर सर्वसाधारणमा बिक्री गर्ने पक्षमा सरकार रहेको बताए ।
बैंकले प्रस्ताव गरेर पठाएको छ, त्यसलाई सकारात्मक रुपमा लिएर सेयर जारि गर्न सरकारले स्विकृती दिने छ डा.महतले भने । बैंकले कम्तिमा ३० प्रतिशत सेयर सर्बसाधारणमा जारी गर्नु पर्दछ ।
स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय वाणिज्य बैंकलाई कृषि, स्वास्थ्य, ऊर्जा क्षेत्रमा कर्जा लगानी विस्तार गर्न आग्रह गरे । उनले देशमा आर्थिक उदारीकरण भएकै कारण आर्थिक क्षेत्रमा विस्तार भएको समेत दावी गर्न भ्याए ।
दैनिक १५ सय भन्दा बढी युवा बेरोजगारीका लागि बाहिर गइरहेका छन् उनले भने– लगभग ३५ लाख युवा जनशक्ति बाहिर गइरहेको अवस्था देख्दा आफूलाई दुःख लागेर आउँछ ।
राष्ट्रपति डा.यादवले चुरे क्षेत्रमा पुनः बालुवा तथा ढुङ्गा गिट्टी निकाल्न अनुमति दिनु दुःखद भएको बताउँदै भने–यो निर्णयले चुरे संरक्षणमा दुरगामी असर पर्छ ।
राष्ट्र बैंकका डेपुटि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सुपरीवेक्षण रिपोर्टमा बैंकको वित्तिय अवस्था सुदृढ रहेकोले आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले ग्राहक संरक्षण सिद्धान्त अनुसार बैंकलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई स्वर्णजयन्ति आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ भने राष्ट्रिय बाणिज्य बैंक आर्थिक पत्रकारिता पुरस्कारबाट दि हिमालयन टाइम्सका रुपक शर्मा र अन्नपुर्णपोस्टका कुवेर चालिसेलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया