वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको नयाँ व्यवस्था : व्यवसायी संघको सिफारीस बिना बैंकहरुले सुन बेच्न पाउने

अर्थटुडे
२०७१ माघ १४, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन बिक्री कार्यविधि २०६८ संसोधन गर्दै सुन बिक्री गर्ने व्यवस्था केही लचिलो बनाएको छ । नयाँ व्यवस्था अनुसार बैंकहरु सुनचाँदी व्यवसायीका छाता संगठनको सिफारीस बिना नै सुन बेच्न सक्ने भएका छन् । बैंकहरुले आयात गरेको सुन बिक्री नभएपछि नेपाल राष्ट्र बैंकले सुन बिक्री व्यवस्था लचिलो बनाएको हो ।

gold
यसअघि सुनचाँदी व्यवसायीका छाता संगठनको सिफारीसमा मात्र बैंकहरुले व्यापारीलाई सुन बिक्री गर्न पाउथे ।

राष्ट्र बैंकले मंंगलबार परिपत्र जारी गर्दै बाणिज्य बैंकले आयात गरेको सुन १५ दिनसम्म पनि नबिकेमा बैंकले सिफारीस बिना नै सिधै बिक्री गर्न सक्नेछन् । यसरी बिक्री गर्नका लागि उक्त व्यवसाय दर्ता भई प्यान नम्बर लिएको भने हुनुपर्नेछ ।

सुनचाँदी व्यवसायीले बैंकबाट सुन नकिनेपछि बाणिज्य बैंकहरुमा ४ सय किलो सुन थन्किएको छ । यसैगरी साउनयता आयात नभएकाले २ हजार किलो सुन आयात कोटा बाकी रहेको छ ।

राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले व्यवसायीको सिफारीस बिना नै सुन बिक्री गर्न पाउने व्यवस्थाले बैंकमा रहेको सुन बिक्री हुने बताउछन् । “बैंकर र व्यवसायीको सुझाव अनुसार नै कार्यविधि संसोधन गरेका हौं” उनले भने, “यसबाट बैंकमा बिक्री नभई थन्किएको सुन बिक्री हुनेछ ।”

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य सिफारीस बिना नै बिक्री गर्न पाउने व्यवस्थाले बैंकहरुको सुन बिक्री नहुने दावी गर्छन् । बजारभाउ भन्दा बैंकको सुन महंगो भएको र बजारमा भाउको उतारचढावले गर्दा माग समेत घटेकाले सुन बिक्री हुन नसकेको उनको भनाई छ ।

आव २०६६\०६७ मा ४१ अर्वको सुन आयात भई व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयातलाई नियन्त्रण थालेको हो । त्यसपछि सुन आयात र बिक्री व्यवस्थित गर्न राष्ट्र बैंकले सुन आयात तथा बिक्री कार्यविधि जारी गरी कोटा प्रणाली लागु गरेको हो ।

कार्यविधिको व्यवस्था अनुसार हाल बाणिज्य बैंकले दैनिक १५ किलो मात्र सुन आयात गर्न अनुमति दिएको छ । उक्त सुन सुनचाँदी व्यवसायीलाई मात्र बेच्नुपर्छ । यसैगरी व्यवसायीले पनि ढिक्का सुन बेच्न नपाइने र गहना मात्र बनाएर बेच्नुपर्ने व्यवस्था गरिएको छ । तर, कार्यविधि अनुसार सुन कारोबारको प्रभावकारी अनुगमन गर्न नसक्दा बजारमा जथाभावी कारोबार हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ