काठमाडौं । राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही भोगिरहेको ग्राण्ड बैंकलाई प्रभु बैंकले खरिद गर्ने भएको छ । निस्क्रिय कर्जाले थलिएको ग्राण्ड बैंक बलियो बाणिज्य बैंक खोजेर त्यसैमा समाहित हुने मनस्थितिमा पुगेपछि जनता बैंकसँग मर्जको प्रक्रियामा थियो ।
जनता बैंकसँग मर्जको कुरा अगाडि बढाई ड्यु डिलिजेन्स अडिट (डीडीए) समेत गराएको ग्राण्डको मर्ज योजना असफल भएपछि प्रभुले सो बैंक किन्ने भएको हो ।
गत आर्थिक बर्षको अन्त्यमा झण्डै २ अर्ब रुपैयाँले घाटामा गएको ग्राण्ड बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमासमा पनि सुधारिने संभावना नदेखी आफुलाई किनिदिनेहरुको खोजीमा लागेकोमा प्रभु बैंकले साथ दिन लागेको पाइएको छ ।
प्रभु र ग्राण्ड बैंकबीच बिहीबार साँझ खरिद विक्रि ९एक्वीजीसन० सम्बन्धि सैद्धान्तिक सहमतिमा हस्ताक्षर हुने बैंकका एक सञ्चालकले जानकारी दिए । राष्ट्र बैंकले संस्था एक्वीजिसनसम्बन्धी नीति लागू गरेपछि यो पहिलो एक्विजिसन हो ।
ति सञ्चालकका अनुसार प्रभुले ग्राण्डलाई ७० प्रतिशत स्वाप रेसियोमा खरिद गर्ने र बढीमा तीन महिनाभित्रमा गाभिने प्रक्रिया पुरा गर्ने गरी सम्झौता हुने छ ।
ग्राण्डलाई लिन प्रभु समूह तयार भए पनि त्यसको खराब कर्जा टाउको दुखाईको विषय बनेको छ ।
तत्कालीन प्रमुख कार्यकारी सुधिर खत्रीले बैंकलाई धरासायी बनाएपछि सुधार गर्न पशुराम कुँवर क्षत्रीलाई ल्याईएको थियो । क्षत्रीले चालेको बैंक सुधार योजनामा बैंकका प्रोमोटर र कर्मचारीहरुले सहयोग नगरेपछि क्षत्रीले गत कार्तिक मसान्तमा राजीनामा गरेका थिए ।
२ अर्ब चुक्ता पूँजी, १५ अर्ब निक्षेप र १४ अर्ब ऋण प्रबाह रहेको ग्राण्डका २२ शाखा छन् । कमलादीस्थित आफ्नै सुविधासम्पन्न भवन भए पनि ग्राण्डको तरलता अनुपात खुम्चिदै गएको छ भने प्रशासनिक खर्च धान्न समेत मुस्किल पर्न थालेको छ । यसैगरी प्रभु बैंकले नेपाल विकास बैंकपनि खरिद गर्ने भएको छ ।
प्रभु र नेपाल विकास बैंकबीच भने यसअघि नै एक्वीजीसन गर्ने सहमति भएको थियो । तीनदिन अघि मात्रै दुबै संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त आवेदन दिएका छन ।
प्रतिक्रिया