काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले चिनका राजदूत उ चुन्ताईसँग चिनको सहयोगमा सञ्चालित परियोजनाको काम छिटो पूरा गर्न आग्रह गरेका छन् । विहिबार अर्थमन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री डा. महतले चिनको सहयोगमा सञ्चालित विकास आयोजनाहरुको काम छिटो गर्न चिन सरकारसँग आग्रह गरेका हुन् ।
विशेषगरी काठमाडौं चक्रपथको बिस्तार, रसुवागढी र तातोपानी, बेनी जोमसोम सडकको स्तरोन्नति तथा पोखरा विमानस्थलको निमाणका कामहरु छिटो पूरा गर्न अर्थमन्त्रीले राजदुत चुन्ताईसँग आग्रह गरेका हुन् ।
मन्त्री डा महतले भैरहवा विमानस्थलको काम शुरु भैसकेको जानकारी दिदै पोखराको क्षेत्रीय विमानस्थलको काम पनि छिटो शुरु गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानी गरी चीनले प्रचूर फाइदा लिनसक्ने संभावनातिर औल्याउँदै डा.महतले भने–नेपालको बजार मात्र होइन, दक्षिण एसियाली देशहरुमा समेत निर्यात गर्न सकिन्छ ।
कम विकसित देशको सुविधा नेपालले प्राप्त गरेकोले युरोप तथा अमेरिका जस्ता मुलुकमा पनि निर्यात गरेर बढी फाइदा लिन सकिन्छ । त्यसैले बजार सानो छ भन्ने कुरै छैन डा.महतले भने ।
राजदूत चुन्ताईले चिनले अन्य मुलुकहरुसँग जसरी नै नेपालसँग पनि स्वतन्त्र व्यापार क्षेत्रसम्वन्धी सम्झौता गर्न चाहेको बताए । राजदूत चुन्ताईले चीनले नेपालमा संयुक्त लगानीमा औद्योगिक क्षेत्र तथा सूचना प्रविधि पार्क स्थापना गर्न चाहेको जानकारी पनि दिए ।
प्रतिक्रिया