काठमाडौं । तपाईलाई ठुलो रकम बराबरको चिठ्ठा पर्र्यो भन्दै विदेशबाट फोन आएको छ ? यदि छ भने यस्ता प्रलोभनमा नफस्नुहोस् । यस्ता फोन कल ठगहरुको हुनसक्छ । ठगले तपाईलाई चिठ्ठा परेको छ त्यसलाई पठाउनका लागि नेपालको कुनै बैंकको खातामा रकम जम्मा गर्न लगाउने र फरार हुने गरेका छन् । प्रहरीका अनुसार यसरी ठगी गर्ने गिरोह नेपालभर सक्रिय रहेको बताउदै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबि) का अनुसार विगत केही समयदेखि विभिन्न पाकिस्तान, अष्ट्रेलिया, मलेसिया, स्वीडेनलगायतका कोड नम्वर भएका देशबाट नेपाली मोबाइल तथा ल्याण्ड लाइन फोन गरी ठगी गर्ने गिरोह सक्रिय रहेका छन् । यस्ता ठगहरुले विशेषगरी हिन्दी भाषामा कल गरी तपाईंलाई ठूलो रकमको चिठ्ठा परेको छ भनी प्रलोभनमा पारी उक्त रकम प्राप्त गर्ने प्रकृयाका लागि नेपालका विभिन्न बैंकको खाता नंवरहरु दिई उक्त खातामा केही रकम जम्मा गर्न लगाई सो खाताबाट रकम झिकी ठगी गर्ने गरेका छन् ।
त्यस्ता गिरोहको प्रलोभनमा परी केही व्यक्तिहरुले भने बमोजिमको रकम जम्मा समेत गरिदिई ठगिएको भनी विभिन्न प्रहरी कार्यालयमा तथा केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी पर्न आएको जानकारी दिदै प्रहरीले यसरी विदेशी तथा नेपाली नंवरहरुबाट कोही कसैले उल्लेखित व्यहोरा सहित फोन गरेमा प्रलोभनमा नपर्नहुन तथा त्यस्तो फोन आएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया