काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालले पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । नेपाल भ्रमणमा रहेको बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलसँग शुक्रबार अर्थमन्त्रालयमा कुराकानी गर्दै उनले ठूला पूर्वाधारका साथै ग्रामीण सडक, उर्जा, सिंचाई लगायतका क्षेत्रमा प्राथमिकता दिइएको र लगानी बढाइएको जानकारी दिए ।
उनले बिगत बर्षहरुको तुलनामा विकासका कामहरुमा तिब्रता आएको र विकास खर्च गत बर्षको तुलनामा ५१ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरे । उनले अझै पनि विकास निर्माणका कामहरुलाई तीब्र रफ्तारमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ, यसका लागि अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुसँग सुसंयोजन गरी कामको समीक्षा गरिरहेको जनकारी दिए ।
विकास सहायता नीतिमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई सरकारको लेखा प्रणालीमा ल्याइएको जानकारी दिदै उनले भने , सानातिना आयोजनाहरु बढी भएको र अनुगमन गर्न झण्झटिलो पनि हुने भएकोले सीमित ठूला आयोजनाहरुमा केन्द्रित हुन ५० करोडभन्दा बढी रकमका आयोजनाहरुमा मात्र विदेशी सहयोग लिने व्यवस्था गरिएको हो । तर प्राविधिक सहयोगमा भने यस्तो सीमा रहेको छैन ।
बेलायतद्वारा सञ्चालित आयोजनाहरुको समीक्षा गर्न र थप सिफारिसहरु गर्नका लागि सांसद तथा बेलायतको संसद अन्तर्गतको अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्ष माल्कम ब्रुसको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल हालै नेपाल भ्रमणमा आएको हो ।
आठ दिनसम्म नेपाल रहँदा प्रतिनिधिमण्डलले बेलायतद्वारा सञ्चालित विभिन्न आयोजनाहरुको अध्ययन भ्रमण पनि गर्नेछ । बेलायतका सांसदहरुको यो समितिले डीएफआईडीद्वारा संसारभर सञ्चालित आयोेजनाहरुको वाचडग बडीको रुपमा रहेको छ ।
सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलका सदस्यहरु, नेपालका लागि बेलायतका राजदूत एण्डी स्पार्क्स तथा दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया