वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माथिल्लो तामाकोसीको जिल्लावासीलाई ७० कित्ता सेयर

अर्थटुडे
२०७१ माघ २६, सोमबार

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीलाई दिने भन्ने १० प्रतिशत सेयर प्रतिव्यक्ति ७० कित्तासम्म हाल्न पाउने गरी आइतबार निर्णय गरेको छ । जिल्ला विकास समिति दोलखाले घरधुरी र जनसंख्याको तथ्यांक संकलन गरी आइतबार जिल्ला समन्वय समितिको बैठकमा सार्वजनिक गरेपछि जिल्लावासीलाई दिने भन्ने १० प्रतिशत सेयर प्रतिव्यक्ति ७० कित्तासम्म हाल्न पाउने गरी निर्णय गरेको हो ।

tamakoshi

हालको सर्वेक्षणले देखाएको जनसंख्या २ लाख ८० हजार ८ सय ८४ जना रहेकाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दिने १० प्रतिशत सेयरको जम्मा रूपैयाँ १ अर्ब ५ करोड ९० लाख रूपैयाँलाई दामासैले वितरण गर्दा लामबगरवासीलाई छुटाई अन्यको भागमा ३५ कित्ता मात्र देखिएको छ ।

शत प्रतिशत नागरिकले सेयर हाल्ने सम्भावना नदेखेपछि जिल्लावासीलाई छुट्याइएको रकम फिर्ता जाने हुँदा सो रकम सुरक्षाको निमित्त ७ हजारसम्म हाल्न पाउने निर्णय गरेको समन्वय समितिका सदस्य एवं नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । यता ७ हजारका दरले सेयर हाले पनि घटिबढी भएमा दामासाहीले सोही अनुपातमा घट्ने र बढ्ने भनी निर्णय गरेको नेपाली कांगे्रस दोलखाका पार्टी सभापति ताराबहादुर कोइरालाले बताए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समन्वय समितिको बैठकले आर्थिक रूपमा कमजोर नागरिकको पहिचान गरी वित्तीय संस्थासँग समन्वय गर्दै ऋणको व्यवस्था गर्ने सहमति गरेको छ । २०६८ सालको जनगणनामा दोलखाको जनसंख्या १ लाख ८७ हजार ५ सय २१ रहेकामा माथिल्लो तामाकोसीको सेयरका लागि भने ९४ हजार ८ सय २१ जना बढी देखिएको छ ।

पटक पटक माथिल्लो तामाकोसीका जिल्लावासीलाई दिने भनिने १० प्रतिशत सेयरमा किचलो गर्दै आएका राजनीतिक दलहरू आइतबार भने सहमतिमा आएका छन् । जिल्लाको जनसंख्याको ५० प्रतिशत नागरिकले मात्र सेयर हाले भने प्रतिव्यक्तीले ७० कित्ता पाउनेछन् । तर शत प्रतिशतले हालेको खण्डमा ३५ कित्ता मात्र सेयर पाउने माथिल्लो तामाकोसीका सेयर प्रबन्धक नारायण घिमिरेले बताए । घिमिरेले भने, ‘फागुनको दोस्रो साताबाट सेयर निष्कासन गर्ने कार्ययोजना तामाकोसी बोर्डले बनाएको छ ।’

‘फागुनको दोस्रो सातामा निष्कासन गर्ने सेयर पहिलो पटक १५ दिन दोस्रो पटक १० दिन र तेस्रो पटक १० दिन गरी ३५ दिनभित्र सेयरको रकम जम्मा गर्ने सूचना जारी गरिन्छ,’ घिमिरेले भने । आइतबार जिल्ला समन्वय समितिले भने ३५ दिनपछि पनि नागरिकको आवश्यकतालाई हेरी म्याद थप गर्न सक्ने निर्णय गरेको छ ।

जिल्लामा सक्रिय रहेका ६ ओटा राजनीतिक दलले एक मतका साथ जिल्लावासीलाई बराबर सेयर हाल्न पाउने अधिकारको सुनिश्चित गरेका छन् । बैठकमा माथिल्लो तामाकोसीका इस्यु मेनेजर घिमिरेले एक साताभित्र आह्वानपत्र जारी गर्ने र फागुनको दोस्रो सातामा सेयर हाल्न आह्वान गर्ने र सेयरका लागि प्रत्येक गाउँ विकास समितिमा केन्द्र बनाई नागरिकलाई सहज हुने गरी बैंकिङ खाताविना नै रकम हाल्ने अवसर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर वितरणसम्बन्धी सबैले चासोको रूपमा हेरेका थिए ।

नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखावासीका लागि १० प्रतिशत सेयरको व्यवस्था गरे पनि प्रतिव्यक्ति कति पाउने भन्ने विषयमा विवाद रहँदै आएको थियो । लामाबगर र गौरीशंकर गाविसका स्थानीयवासीलाई भने विशेष सेयरको व्यवस्था गर्ने निर्णय गरेको थियो । त्यसबाहेक अन्य केही गाविसले पनि विशेष सेयर पाउनुपर्ने माग राखे पनि दुई गाविसबाहेक अन्यलाई बराबरी दिने निर्णय भएको जिल्ला विकास समिति दोलखाका पूर्वसभापति रुद्रबहादुर खड्काको भनाइ रहेको छ ।

यस्तै सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका ०७० मा ‘ऋण लगानी सम्झौतामा १५ माघ २०६४ भित्र बसाइँ सरी दोलखा आएकाले मात्र सेयर खरिद गर्न पाउने’ सम्बन्धमा गरेको संशोधनलाई बैठकले अनुमोदन गरेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले अतिप्रभावित लामाबगर र गौरीशंकर गाविसका नागरिकलाई प्रतिव्यक्ति ३ सय कित्ता सेयर लगानीको सुनिश्चितता गरिएको छ । यसमा ४ करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ । जसमा लामाबगर गाविसमा २ हजार २ सय ९४ र गौरीशंकर गाविसमा २ हजार ७८ जनसंख्या रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ