वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तामाकोशी शेयरका सबल र दुर्बल पक्ष : हरिबोल काफ्ले

अर्थटुडे
२०७१ फाल्गुन ६, बुधबार

स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो

हरिवोल काफ्ले, विश्लेषक

हरिवोल काफ्ले, विश्लेषक

तामाकोशी जलविद्युत् योजनाअन्तर्गत कम्पनीको शेयर सबै लगानीकर्ताको आकर्षणको केन्द्र बन्न खोजेको छ । कम्पनी जति धेरै सबल देखिन्छ त्यति नै त्यसमा दुर्बलतासमेत सन्निहित रहेको पाइन्छ । तसर्थ कम्पनीको सबलता र दुर्बलता समेतलाई औंल्याएर लगानीकर्ताले आफ्नो लगानी परिचालन गर्नु बढी बुद्धिमानी हुन्छ । माथिल्लो तामाकोशीका सबै सैद्धान्तिक पक्ष सबल छैनन् । केही दुर्गुण पनि देखिन्छन् । कम्पनीको शेयरले पूँजीबजारमा खेप्ने सम्भावित गुण र दोषहरू निम्न हुन सक्छन् :

सबल पक्षहरू

आयोजनाको लागत करीब रू. ४२ अर्ब पुग्ने अनुमानविपरीत रू. ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने सूचनाहरू सार्वजनिक भएका छन् । सुरूङ निर्माणका क्रममा देखिएको भौगर्भिक समस्या र अमेरिकी डलरसँगको नेपाली मुद्रा अवमूल्यनका कारण आयोजनाको लागत बढेर ४२ अर्ब पुग्ने अनुमान गरिएको थियो । हालसम्म ७२ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी कम्पनीबाट नै आधिकारिक रूपमा आएकाले बाँकी निर्माण लागत बढ्ने देखिँदैन । अहिलेसम्मको निर्माण लागतअनुसार कम्पनीले २१ अर्ब ६० करोड रुपैयाँ खर्च गरिसकेको छ ।

कम्पनीले सार्वजनिक गरेको नाफानोक्सान विवरणअनुसार आव २०७३।७४ मा पहिलोपटक ५ अर्ब ३८ करोड खुद मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । उक्त विवरणअनुसार कम्पनीले ५० दशमलव ८० प्रतिशत प्रतिशेयर आम्दानी गर्ने देखिएको छ । यो हाल विवरण सार्वजनिक भइरहेको कम्पनीहरूको आधारमा उच्चतम नै हो । त्यसपछिका वर्षमा पनि कम्पनीको आम्दानी निरन्तर वृद्धि हुनेसमेत प्रक्षेपण गर्न सकिन्छ ।

कम्पनीले आयोजना निर्माण सम्पन्न गरिसकेपछि थप अन्य आयोजनामा लागानी गर्ने वा नगर्ने अर्को विश्लेषणको पाटो हो । तर, अन्यत्र लगानी गर्ने र लगानीको विविधीकरण नगर्ने अवस्था आए पनि कम्पनी प्रत्येक वर्ष नगद लाभांश दिने हैसियतमा रहन्छ । कम्पनीले वितरण गर्ने लाभांश पनि ५० प्रतिशतभन्दा माथि रहने अपेक्षा गर्न सकिन्छ ।

अन्यत्र निर्माण भइरहेको योजनाहरूभन्दा यो धेरै नै चुस्त र न्यून लागतमा सम्पन्न हुने योजना हो । वर्तमान अवस्थामा नेपालमा विद्युतीय सेवाको बजार विस्तारमा कुनै समस्या देखिँदैन । भारतसँग समेत अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेकाले भविष्यमा समेत नेपालको विद्युत्ले बजारको समस्या नभोग्ने देखिन्छ । त्यसैगरी आयोजना निर्धारित समयमा नै सम्पन्न हुने भएकाले लागत वृद्धिजस्ता समस्यासमेत नहुने निश्चितप्राय छ ।

बजारमा समेत तामाकोशीको शेयरले बलियो उपस्थिति देखाउन सक्छ । सीमित कारोबारले नै बजारमा अन्य उपकरणजस्तो ठूलो उतारचढाव ल्याउन सक्दैन । यस अर्थमा बजारमा अस्वाभाविक चलखेल गर्ने पक्षहरू कमजोर हुन्छन् र समग्र बजार अझ बढी परिपक्व बन्न सहयोग पुग्छ ।

दुर्बल पक्षहरू
कम्पनीले जारी गर्ने शेयरको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो प्राथमिक निष्कासन हो । शेयरको अत्यधिक प्रवाहले बजारमा माग पक्ष कमजोर र आपूर्ति पक्ष सबल हुने देखिन्छ । माग र आपूर्तिको सन्तुलनले मूल्यनिर्धारण हुने सामान्य सिद्धान्तबमोजिम शेयरको बजार मूल्य धेरै नहुने अपेक्षा पनि गर्न सकिन्छ । पोर्टफोलियो व्यवस्थापनको अभ्यासले पनि तामाकोशीको शेयरसँगै लगानीकर्ताले अन्य उपकरणलाई पनि लगानीमा समावेश गर्छन् । तसर्थ सीमित मात्रामा जारी भएको शेयरहरूको जस्तो माग पक्ष तामाकोशीको शेयरमा बलियो नहुन सक्छ ।

कम्पनीले आयोजना निर्माण सम्पन्न गरिसकेपछि अन्य आयोजनामा लगानी गर्ने योजना तत्काललाई टर्ने सम्भावना देखिन्छ । अन्यत्र लगानी गर्ने र लगानीको विविधीकरण नगर्ने अवस्थामा कम्पनी प्रत्येक वर्ष नगद लाभांश दिने हैसियतमा सीमित हुन्छ । तसर्थ कम्पनीले शेयर लाभांश वितरण नगर्न सक्छ । शेयर लाभांश र नगदमा समेत मुनाफा लिने लगानीकर्ताको वर्तमान प्रवृत्तिका लागि तामाकोशीको शेयर सही उपकरण
नहुन सक्छ ।

कम्पनीले तत्काल लाभांश दिन सक्दैन । आयोजना निर्माण सम्पन्न भएपश्चात् उत्पादनको विक्री आव २०७३।७४ मा शुरू हुने कम्पनीको प्रक्षेपित विवरणमा उल्लेख छ । कम्पनीको जगेडा कोष धनात्मक भई नाफा वितरण गर्ने हैसियतमा पुग्न १ वर्ष र उक्त अवधि वर्षको नाफा वितरण गर्नसमेत अर्को चालू आर्थिक वर्षसम्म पर्खनुपर्ने अवस्था हुन सक्छ । छिटोमा पनि कम्पनीले पहिलोपटकको मुनाफा आव २०७५।७६ मा मात्र दिने देखिन्छ । तसर्थ लगानीकर्ताले साचेअनुसारको नाफा लिन कम्तीमा आजका मितिले ५ वर्ष कुर्नुपर्ने हुन्छ ।

बजारको परिपक्वतासँगै तामाकोशीको शेयरले बजारका एउटै समूहको अन्य शेयरहरूलाई भने निरुत्साहित बनाउन सक्छ । तामाकोशीको शेयरले जलविद्युत् समूहको नेतृत्व लिन सक्छ र अन्य कम्पनीका शेयरहरू फलोअरका रूपमा रहन सक्छन् । यो अवस्थामा पोर्टफोलियो व्यवस्थापनमा सजग रहनु बढी बुद्धिमानी हुन सक्छ ।

भनिन्छ, जति धेरै प्रतिफल छ त्यति नै धेरै जोखीम लगनीमा निहित रहन्छ । तर, आमलगानीकर्ताले तामाकोशीको शेयरलाई त्यो सिद्धान्तको अपवादको रूपमा बुझ्ने कोशिश गरेको पाइएको छ तर त्यो उपयुक्त होइन । कम्पनीको प्रतिफल उच्च भए पनि लगानीकर्ताले आफ्नो पूँजीअनुकूलको योजना दिन नसकेको खण्डमा त्यस्तो लगानी मुनाफाविहीन बन्छ । ऋणमा लिएको रकमले लगानी गर्ने हो भने त्यसबाट प्राप्त हुने प्रतिफल र ऋणको भार ग्रहण गर्नसक्ने क्षमता एवम् समयको ख्याल गर्नुपर्ने हुन्छ । धेरै उत्साह र महत्वाकाङ्क्षाले पनि लगानी गर्र्ने प्रवृत्ति लागानीकर्ताका लागि हानिकारक हुन्छ ।

 नेशनल काउन्सिल फर इकोनोमिक एण्ड डेभलपमेण्ट रिसर्चका निर्देशक रहेका लेखकको विचार अभियान दैनिकबाट साभार गरिएको हो । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ