काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको एक लाख ६ हजार कित्ता सेयर अझै खरिदकर्ताको नाममा नामसारी हुन सकेको छैन । विनु श्रेष्ठले बेचेको एक लाख ६ हजार कित्ता शेयर सम्बन्धित खरिदकर्ताको नाममा नामसारी हुन नसक्दा साधारणसभा समेत अनिश्चित बनेको छ ।
नेपाल स्टक एक्सचेन्जले शेयर नामसारी नभएसम्म साधारणसभा रोक्न निर्देशन दिएपछि गत पुस ३० गतेका लागि आब्हान गरिएको १६ र १७ औ साधारणसभा समेत रोकिएको थियो ।
एकसय जना सेयर खरिदकर्ताले नामसारी हुन नसकेको मध्ये ९४ हजार कित्ता शेयर आफनो नाममा शेयर नामसारी गराई पाउन भनी कम्पनीमा निबेदन दिएपनि बाँकी १२ हजार कित्ताका खरिदकर्ताले अझै नामसारीको निबेदन कम्पनीको कार्यालयमा नपाठाएका कारण सेयर नामसारीमा समस्या भएको कम्पनीले जनाएको छ ।
एनबी समूहका लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठले बैंकलाई धरासायी बनाउन लागेको बेला राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । बिनु श्रेष्ठ लक्ष्मीबहादुरकै श्रीमती हुन् । उनकै नामको सेयर नामसारी नभएर विवादमा परीरहेको छ ।
हाल एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४३ करोड रुपैयाँ छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रति शेयर आम्दानी २८ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया