काठमाडौं । मेगा बैंकका प्रमूख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाली फुटबल टोलीका कप्तान सागर थापालाई प्रोत्साहन स्वरुप एक लाख रुपैंया प्रदान गरेका छन् । शाहले आइतबार थापालाई व्यक्तिगत रुपमा एक लाख रुपैंया नगद प्रदान गरेका हुन् ।
भारतको नेहरु रंगशालामा सातौं साफ च्याम्पियनसिपमा सागरले गरेको बंगलादेशविरुद्धको फ्रिकिक गोलको सम्झना गर्दै सिइओ शाहले भने , ‘फुटबल धेरै हेरिन्छ, त्यो गोल एकदम मिठो थियो । अब भारतसँग राम्ररी खेल्नुस्, जितेर आउनुस् । फुटबल टोलीको कप्तानको रुपमा जितका लागि सागरजीको भूमिका निकै ठूलो हुन्छ ।’
नेपाली टोलीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भिक छनोट चरणको खेलमा आगामी मार्च १२ तारिख अर्थात फागुन २८ गते भारतको गुहाटीमा दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । त्यसको पाँच दिनपछि मार्च १७ तारिखमा घरेलु मैदान त्रिभुवन रंगशालामा नेपालले होम गेम खेल्दैछ ।
थापाले नेपालको जितका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै ‘अहिलेसम्म तयारी राम्रो छ, जितका लागि हामी भारतसँग आक्रमक खेल खेल्नेछौँ ।’ – उनले भने ।
भारतसँगको खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ । एन्फाका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले कप्तान थापालाई गरिएको सम्मानले नेपाली टोलीलाई हौसला मिल्ने बताए । कार्यक्रममा नेपाली टोलीका टिम म्यानेजरको पनि उपस्थिति थियो ।
प्रतिक्रिया