काठमाडौँ । आफुले चाहेको समयमा, चाहेको रकम निकाल्न सकिने सुविधाका कारण एटिएम कार्ड उपभोक्तहरु माझ निकै लोकप्रिय छ । उपभोक्तको रोजाईकै कारण बैंक तथा वित्तीय संस्थाहरुले पनि प्राथमिकताका साथ एटिएम सेवाको विस्तार गरिरहेका छन् ।
जसका कारण उपभोक्तलाई कार्डको बोकेर आफुलाई आवश्यक परेका स्थानबाट तुरुन्तै पैसा झिक्न पाउने अवसर सिर्जना गरेको छ । सेवा जति विस्तार भइरहेको छ त्यससँगै समस्या पछि बढ्दै गएका छन् । एटिएमको प्राविधिक, सुरक्षा जस्ता विषयमा आधारभुत जानकारी नहुँदा एटिएम प्रयोग गर्ने उपभोक्ता अनावश्यक समस्या भोग्नुका साथै ठगिइरहेका छन् ।
अटोमेटिक टेलर मेसिन (एटीएम) बाट रकम निकाल्न जति सजिलो छ त्यति यसबाट उपभोक्ता सजिलैसँग ठगिएका पनि छन् । एटिएमबाट पैसा निकाल्दा खाताबाट निकालेको भन्दा धेरै रकम घट्ने, खाताबाट रकम घटेपनि एटिएमबाट पैसा नआउने, कार्ड मेसिनमै अड्किने, एटिएमबाट ग्राहकको रकम चोरी हुने गरेकासम्म समस्याहरु भएको ग्राहकहरु गुनासो गर्छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाले विभिन्न नेटवर्कमार्फत सेवा लिएर ग्राहकलाई एटिएम सेवा प्रदान गर्दै आएका छन् । नेपालमा एससीटी नेटवर्क, भिजा, नेशनल पे, युनियन पेलगायतका नेटवर्क प्रचलनमा रहेका छन् । बैंकहरुले आफ्नै एटिएम काउन्टरमा प्रयोग गर्दा निशुल्क भएपनि अर्को बैंकमार्फत पैसा निकाल्दा भने शुल्क लिने गरेका छन् । यस विषयमा थाहा नहुँदा पनि ग्राहकहरु ढगीने गरेको बैंकरहरु बताउछन् ।
“ग्राहकले आफुले एटिएम लिदा नै यसका प्रयोग गर्ने तरिका, सेवा सुविधा र सर्तबारे राम्रोसँग बुझ्नुपर्छ” प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, “यसले गर्दा ठगिने सम्भावना कम हुन्छ ।” अहिले एटिएम प्रयोग गर्दा पैसा नआउने तर खाताबाट घट्ने र त्यो रकम खातामै फिर्ता हुन समय लाग्ने गरेको धेरै उपभोक्ताको गुनासो आउने गरेको उनले बताए ।
पछिल्लो सयमा एटिएमबाट रकम चोरी हुने गरेका घटना पनि सार्वजनिक भइरहेका छन् । हालै मात्र प्रहरीले विदेशी नागरिक मेहमत गुलेनलाई विभिन्न बैंकका नक्कली एटिएम कार्ड सहित पक्राउ गरेको थियो । यस घटनाबाट एटिएमबाट उपभोक्ताको रकम सजिलै चोरी हुन सक्ने भन्दै त्यसमा सचेतता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
४२ लाख प्रयोगकर्ता
आधुनिक सेवाका कारण एटिएमका प्रयोगकर्ता दिनदिनै थपिदै छन् । बैंकिङ सेवाप्रति सर्वसाधाणको पहुँच र आकर्षण बढ्दै जादा प्रयोगकर्ताको आकार पनि ह्वात्तै बढेको छ । ०६० सालमा करिब ४० हजार नेपालीसँगमात्र एटिएम भएकोमा अहिले यो आकार ४२ लाख नाघिसकेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०६०\०६१ सालतिर करिब २० हजार नेपालीसँग मात्रै एटीएम थियो । एटीएम काउन्टरको संख्या पनि २ सयको हाराहारीमा थियो । स्टान्डर्ड चार्टड, नविल र इन्भेष्टमेन्ट जस्ता केही ठूला बैंकले मात्रै एटीएम सेवा दिन्थे । अहिले अवस्था फेरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै बैंकिङ क्षेत्रको सेवामा पनि व्यापक विस्तार भएको छ । हाल सबै बैंक वित्तीय संस्थाहरुले एटीएम सेवा प्रदान गरिरहेका छन ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार ४२ लाख नेपालीहरुले एटीएम कार्ड चलाउँछन । यतिवेला बैंक तथा वित्तीय संस्थाको गरी १ हजार ६ सय ७२ वटा एटिएम काउन्टर रहेका छन् । एटीएमको बढ्दो प्रयोगसँगै बैंकिङ सेवा अत्यन्तै सुलभ भएको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार ३० वाणिज्य बैंक, ८१ विकास बैंक, ५२ वित्त कम्पनी र ३६ लघुवित्त विकास कम्पनी गरी १ सय ९९ वटा वित्तीइ संस्था संञ्चालनमा छन । यी संस्थाहरुले देशभर २ हजार ७ सय ६ वटा शाखा सञ्जाल मार्फत सेवा दिइरहेका छन् ।
वाणिज्य बैंकका १ हजार ६ सय ३८ वटा, विकास बैंकका ८ सय २९ वटा, वित्त कम्पनीका २ सय ३९ वटा, लघुवित्त विकास बैंकका ८ सय ५२ वटा शाखा छन । जसअनुसार औसतमा एक शाखाले ८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुबीचको प्रतिस्पर्धा हुँदा एटीएम प्रयोगकर्ताको संख्यामा चमत्कारीकरुपमा वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता डा. मिनकुमार श्रेष्ठले बताए । “पछिल्ला दश वर्षमा वित्तीय सेवाको पहुँच व्यापक विस्तार भएको छ ।
बैंकहरुबीच प्रतिस्पर्धा हुँदा ग्राहकले स्तरीय र सुलभ सेवा पाएका छन ।” उनले भने, “एटीएम नभएको संस्थामा ग्राहकले खाता खोल्न हिचकिचाउन थालेपछि समेत संस्थाहरु एटीएम सेवा विस्तार गर्न बाध्य भए ।”
राजधानी बाहिरका धेरै जिल्लामा एटीएम सेवा विस्तार भइसकेको छ । हाल करिब ४० प्रतिशत अर्थात सवा करोड सर्वसाधारण बैंकिङ पहुँचमा छन । बैंकिङ पहुँचभित्र रहेका ३५ प्रतिशतले एटीएम सेवा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।
सन १९३७ मा नेपाल बैंक स्थापना भएपछि नेपालमा बैंकिङ कारोबारको सुरुवात भएपनि निजी बैंकहरुले ५० को दशकपछि एटीएम सेवा सुरु गरेका हुन । सेवाको विस्तारसँगै एटिएम सेवामा दिनहुँ नयाँ नयाँ जोखिम समेत बढीरहेको छ । यसैले उपभोक्ताले एटिएम प्रयोगमा सचेत हुनुपर्ने आवश्यक्ता देखिएको छ ।
कारोबार दैनिकबाट
प्रतिक्रिया