
आयोजनाले गत सोमबारदेखि सेयर निष्कासन गरेपछि २०६७ साउन १४ सम्म सञ्चय कोषमा बचत गर्ने कर्मचारीहरू सेयर भर्न व्यस्त छन्। बहालवाला मात्र होइन, सेवानिवृत्त कर्मचारीमा पनि तामाकोसीको सेयर किन्ने चासो बढेको छ। यसका लागि उनीहरूले आफूलाई सञ्चय कोषको सञ्चयकर्ताका रूपमा प्रमाणित गर्नुपर्छ।सेयर निष्कासन भएको एकै सातामा सञ्चयकर्ता कर्मचारीले मात्र १ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर भरिसकेको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका मुख्य व्यवस्थापक तथा प्रवक्ता सुशीलकुमार अर्यालले बताए। ‘कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता प्रत्येक कर्मचारीले न्यूनतम ५० कित्ता सेयर पाउने भए पनि धेरैले ३ हजार कित्ताभन्दा बढी भरेका छन्,’ उनले भने।
सञ्चय कोषका करिब साढे ४ लाख सञ्चयकर्तामध्ये करिब ३ लाखले तामाकोसीको सेयर खरिद गर्न दरखास्त फारम लगिसकेका छन्। उनीहरूले फागुन २५ भित्र आवेदन बुझाइसक्नुपर्नेछ। दोलखाका स्थानीयका लागि भने चैत १ बाट दरखास्त खुल्दैछ।
कम्पनीलाई ऋण दिने कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, बिमा संस्थान र नागरिक लगानी कोषका कर्मचारीका लागि भने आफ्नै कार्यालयमा दरखास्त फारम बुझाउने व्यवस्था छ। सञ्चय कोषमा रकम जम्मा गर्नेले नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंक लिमिटेड, कमलपोखरी र वाणिज्य बैंकका ६५ शाखा कार्यालयबाट दरखास्त फारम बुझाउन पाउनेछन्।
आयोजनामा सेयर भर्न सर्वसाधारण र कर्मचारीले बढी चासो दिए पनि आगामी तीन वर्षसम्म कुनै प्रतिफल पाउने छैनन्। आगामी दुई आर्थिक वर्षसम्म आयोजना पूरा नहुने भएकाले कुनै किसिमबाट नाफामा जाने अवस्था छैन।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेले उत्पादन सुरु भएको वर्षदेखि नै सेयरधनीलाई केही न केही प्रतिफल दिने दाबी गरे। उनका अनुसार आयोजनाले आव २०७३/७४ मा बिजुली बिक्री गरेर ६ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ। यसबाट ५ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गर्ने आयोजनाको लक्ष्य छ।
नेपालमा सेयर खरिदबिक्रीले यति ठूलो आकर्षण बटुलेको तेस्रोपटक हो।
नेपाल टेलिकमले केही वर्षअघि ८ प्रतिशत सेयर सर्वसाधारणका लागि बेच्दा मुलुकभर चर्चा थियो। प्रतिसेयर ६ सय रुपैयाँ मूल्य अंकित गरेर निष्कासन गरेको सेयर कतिपयले ३ हजार रुपैयाँसम्म हालेर किनेका थिए।
कृषि विकास बैंकले ग्रामीण किसानलाई लक्ष्य गरेर निकालेको सेयरले पनि गाउँदेखि सहरसम्मै चर्चा पाएको थियो। त्यतिबेला घाटामा रहेको बैंकको सेयर किन्न कतिपय किसानले गाईवस्तु र भेडाबाख्रासमेत बेचेका थिए।
आयोजनाले दोलखाका स्थानीयका लागि १ करोड ५ लाख कित्ता र सञ्चयकर्ता कर्मचारीका लागि १ करोड ८२ लाख कित्ता सेयर निष्कासन गरेको हो। आयोजनालाई ऋण दिने कम्पनीमध्ये सञ्चय कोषका कर्मचारीका लागि १५ लाख २४ हजार, नागरिक लगानी कोष र बिमा संस्थानका कर्मचारीका लागि ६ लाख ८ हजार, नेपाल टेलिकमका कर्मचारीका लागि ९ लाख १४ हजार र नेपाल विद्युत प्राधिकरणका लागि ४० लाख ६६ हजार कित्ता सेयर छुट्ट्याइएको छ।
आयोजनाको सेयर निष्कासनसँगै केही विवाद पनि निस्केका छन्। दोलखाका स्थानीयले सेयर बाँडफाँटमा आफूहरूलाई कम सेयर दिएको भन्दै विरोध गरेका छन्। ऋण दिने कम्पनीका कर्मचारीलाई समेत सेयर दिनु ‘अन्याय’ भन्दै यसको विरोधमा सर्वोच्चमा मुद्दा दायर गरिएको छ। यही फागुन २० मा यससम्बन्धी सुनुवाइ हुँदैछ।
४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी हाइड्रोपावर सस्तो लागतमा बन्न लागेका आयोजनामध्ये एक हो। यसको प्रतिकिलोवाट उत्पादन लागत एक हजार अमेरिकी डलरभन्दा कम छ। जब कि चमेलियालगायत अन्य केही आयोजनाको उत्पादन लागत ३ हजार अमेरिकी डलरभन्दा माथि छ। यो आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग हिउँद र वर्षामा गरी औसत ४ रुपैयाँ ५० पैसा प्रतियुनिटका दरले विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ।
दोलखाको लामाबगरमा बन्न लागेको आयोजनाको कुल लागत सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ भनिएको थियो। अहिले अमेरिकी डलरको विनिमय दर बढेका कारण ४१ अर्ब रुपैयाँ हाराहारी पुगेको छ। २०६८ सालमा बनाउन सुरु गरिएको यो आयोजनाका धेरै काम सकिएका छन्। यसले २०७३ मंसिरबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
परियोजनामा सरकारले नपुग हुने ११ अर्ब रुपैयाँ लगानी गर्नेछ भने विद्युत प्राधिकरणले ४१ प्रतिशत लगानी गर्दैछ। यो आयोजनामा नेपाल टेलिकमले ६ अर्ब, कर्मचारी सञ्चय कोषले १० अर्ब, बिमा संस्थान र नागरिक लगानी कोषले २–२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।
आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर लगानीमा बन्दैछ। यसको पुँजी संरचनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर छ। संस्थापकमा विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थान छन्। ४९ प्रतिशतमा साधारण सेयरमध्ये सर्वसाधारणको १५ र दोलखाबासीको १० प्रतिशत हिस्सा रहने छ। बाँकी २४ प्रतिशत लगानी चारवटा संस्थापक कम्पनी र आयोजनामा ऋण लगानी गर्ने वित्तीय संस्थाका कर्मचारीको हुने नागरिकमा समाचार प्रकाशित छ ।
प्रतिक्रिया