“आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” मूलनारा
बारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) फिल्डकार्यालय हरिवनले ५८ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमहरुसहित भव्य बनाउन कार्यक्षेत्रभित्रका सदस्य संघसंस्थाहरुलाई आह्वान गरेको छ । आज नेफ्स्कून सञ्चालक तथा फिल्ड कार्यालय संयोजक कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकले सो अवसरमा फिल्डकार्यालयले रचनात्मक क्रियाकलापसहित राष्ट्रिय सहकारी दिवस मनाउनेसमेत निर्णय गरेको छ ।
प्रत्येक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवसको यस वर्षको मूलनारा “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” रहेको छ ।
मध्यतराईका सात जिल्ला कार्यक्षेत्र रहेको फिल्डअफिसले कार्यक्षेत्रभित्रका सबै बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई नेफ्स्कूनमा शेयर, बचत, अन्तरलगानी, सफ्टवेयर तथा क्षमता अभिवृद्धिका लागि आवद्धता र भूमिका वृद्धिका लागि आग्रह गरेको छ । सहकारीहरुलाई सहकारी सिद्धान्त र मूल्यमान्यता अनुरुप काम गरी सामाजिक सुशासन र आर्थिक अनुशासन कायम गर्न वैठकले आग्रह गरेको छ । साकोसहरुलाई सीप र प्रविधियुक्त बनाउन र जोखिमरहित भई गुणात्मक सेवा दिन विभिन्न तालीमहरु सञ्चालन गर्नेसमेत वैठकले निर्णय गरेको छ ।
वैठकमा सदस्यहरु सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, संकल्प बचत तथा ऋण सहकारी संस्था चन्द्रपुरका अध्यक्ष विभु पोखरेल, समाज बचत तथा ऋण सहकारी संस्था बर्दिवासका प्रतिनिधि कृष्णकला सिंह, हरिवन फिल्डकार्यालय प्रमुख राजेन्द्र ढकाललगायतको उपस्थिति थियो ।
नेफ्स्कूनले केन्द्रीय कार्यालयले हरिवनलगायत मुलुकभर दश स्थानमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया