शर्मिला ठकुरी \ काठमाडौं । विहान दश बजेदेखि अपर तामाकोसीको सेयर आवेदन फर्म बुझाउन राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय बानेश्वमा लाईन बसेका दोलखाका हरीहर कार्की करिव तीन बजेतिर आवेदन बुझाएर बाहिरिए ।
त्यस्तै ससस्त्र प्रहरीका नील बाराही गणका राजु कोइराला पनि नागरिक लगानी कोषमा अपर तामाकोसीको सेयरका लागि आवेदन गर्न करिव चार घण्टाको लाईनमा बसेर आवेदन फर्म बुझाए ।
बुधबार भेटिएका यी दुवैले सो दिन कार्यालय नै विदा लिई अपर तामाकोसीको सेयर भर्नका लागि आएका हुन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । अपर तामाकोसीको सेयर भर्न स्थानीय बासिन्दा, ऋणदाता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्ताहरुको ठूलो भिड थियो ।
कम्तिमा पनि चार घण्टाको लाइन बसेपछि मात्र आवेदन फर्म बुझाउन सकिने लाइनमा बसेका कर्मचारीहरु बताउँदै थिए । फागुन ११ गतेदेखि आवेदन खुल्ला गरेको सो आयोजनाको आवेदन फर्म भर्नका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाल आर्मीले सगठन भित्र नै सर्कुलर जारी गरेका थिए ।
एम मुट्ठी अन्न रोपेर मुरी फल्ने भन्दै कर्मचारीहरु अपर तामाकोसीको सेयरमा आकर्षित भएका हुन् । पहिले त हामीलाई केही पनि थाहा थिएन सेयर भनेको के हो भनेर जव अपर तामाकोसीको सेयरमा हामीले पनि लगानी गर्न पाउने अवसर आयो तव मात्र थोरै सेयरको बारेमा जानकारी पाएँ नेपाल प्रहरीका सहायक प्रहरी अधिकृत गोपालप्रसाद कोइराला । उनले भने अव म त अलिकति पैसा भयो कि सेयरमा लगानी गर्ने हो ।
अहिले सर्वसाधरणसँग पैसा भएको तर लगानीको विकल्प नभएकोले सेयरमा लगानी गर्नेहरु बढेको सेयरबजार विष्लेषकहरु बताउँछन् । अपर तामाकोसी आयोजनाले पहिलो चरणमा ३ अर्ब ५० करोड रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो। यो देशकै सबैभन्दा बढी रकमको सेयर निष्कासन हो।
सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ५ हजार कित्ता सेयर भर्न सक्ने आयोजनाले जनाएको छ। दोस्रो चरणमा सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रुपैयाँको थप सेयर निष्कासन हुँदैछ।
अपर तामाकोसीको सेयर कै कारण बरुण हाइड्रो पावरको सेयरमा आवेदन भर्नेहरु पनि अत्यधिक बढेका छन् । अपर तामाकोसीको सेयर आउने हल्लाले सर्वसाधरणहरुमा धेरै चेतना जगाएको लगानीकर्ताहरु दावी गर्छन् ।
बरुण हाइड्रोले निष्काशन गरेको सेयर भर्न सर्वसाधारणले सास्ती भोग्नु परेको छ । गत आइतबारदेखि हाइड्रोको सेयर सर्वसाधारणका लागि विक्री खुला गरिएको थियो भने बुधबार बन्द भएको छ ।
बरुण हाइड्रोको ठमाडौमा जनता बैंक र सिभिल क्यापिटल मार्केटमा मात्र आवेदन फर्म लिने व्यवस्था गरेकोले पनि आवेदन बुझाउनेको ठुलो भीड थियो । जलविद्युत आयोजनाको प्राथमिक सेयरमा सर्वसाधारणको ठुलो आकर्षण छ ।
संकलन केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधारण लगानीकर्ताले सास्ती भोग्नु परिरहेको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले एक सय रुपैयाँ अंकित दरका चार लाख ८६ हजार कित्ता सेयर निस्कासन गरेको हो ।
कुल सेयरमध्ये कम्पनीले २४ हजार तीन सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । नौ हजार सातसय २० कित्ता सेयर कर्मचारीले पाउने छन् । बाँकी चार लाख ५१ हजार ९८० कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
सो सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । चार मेगावाट उत्पादन क्षमता भएको कम्पनीको विद्युत उत्पादन केन्द्र संखुवासभाको जलजला गाविसमा छ ।
प्रतिक्रिया