वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ड्राईभिङ लाईसेन्स र ब्लु बुक अब स्मार्ट कार्डमा

अर्थटुडे
२०७१ फाल्गुन २६, मंगलवार

यादव हुमागाई–काठमाडौ : सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वा सवारीधनी दर्ता किताव (ब्लु बुक) च्यातिने, बोकेर हिड्दा पानीले भिज्ने, हराएर हैरानी खेप्नुभएको छ ? अब तपाईले चिन्ता गर्नु नपर्ने भएको छ, यी समस्याबाट तपाईले मुक्ती पाउदै हुनुहुन्छ । यातायात व्यवस्था विभागले आगामी आर्थिक वर्षदेखि लाईसेन्स र ब्लु बुकलाई आधुनिक डिजिटल प्रविधिमा स्मार्ट कार्डमा रुपान्तरण गर्दैछ । कागजी रुपमा रहेको लाइसेन्स र ब्लुबुकलाई डिजिटल प्रविधिमा रुपान्तरण गरेपछि अहिले तपाईले भोग्दै आएको समस्या पनि हल हुनेछ भने सवारीसाधनलाई व्यवस्थित गर्नका लागि सरकारलाई समेत सहयोग हुनेछ ।

smart_card_license

एसियाली विकास बैंकको सहयोगमा सरकारले कागजी कार्डको रुपमा रहेको लाइसेन्सलाई स्मार्ट कार्डमा विकास गर्न लागेको छ । स्मार्ट कार्ड एटिएम कार्ड जस्तै डिजिटल कार्ड हो । जसमा सवारी चालक र सवारीधनीको सम्पूर्ण विवरणहरु समेटिएको हुन्छ । पहिलो चरणमा सवारी लाइसेन्सलाई यस प्रविधिमा रुपान्तरण गर्ने र त्यसपछि ब्लु बुकलाई पनि यस प्रविधिमा लैजाने तयारी रहेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी बताउछन् ।
एशियाली विकास बैंक (एडीबी)को इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी (आसीटी) प्रोजेक्टमा अन्तर्गत लाईसेन्स र ब्लु बुकलाई स्मार्ट कार्डमा रुपान्तरण गर्न लागेको हो । यस प्रविधिका लागि बैंकले विभागलाई १५ करोड रुपैयाँ सहयोग गरेको छ ।

कहिलेदेखि लागू हुन्छ ?
लाईसेन्समा स्मार्ट कार्ड प्रविधि लागू गर्नका लागि विभागले भारतीय कम्पनी मद्रास सेक्युरिटी प्र्रिन्टर्स प्रालिसँग सम्झौता गरी स्मार्ट कार्ड छपाईको काम भइरहेको छ । उक्त कम्पनीसँग विभागले गत असोज १८ मा १ लाख ६० हजार स्मार्टकार्ड प्रिन्टसहित आवश्यक सफ्टवयेर विकास र तालिम सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको थियो । उक्त कार्डहरु चैतसम्ममा विभागमा आईपुग्ने र त्यतिवेला सम्म यातायात कार्यालहरुमा भौतिक पूर्वाधारको व्यवस्था गरी लाईसेन्स वितरण सुरु गरिने कार्यालयले जनाएको छ ।

अधिकारीका अनुसार सम्झौता अनुसार हार्डवेयर र सफ्टवेयर आइसकेको र त्यसलाई देशभरमा ३८ वटा यातायात कार्यालयहरुमा राख्ने काम भइरहेको छ । यसैगरी परियोजनाको म्याद पनि बढाएर मे ३० सम्म पु¥याइएको छ । “हामी तयारी गरिरहका छौं, पहिलो चरणमा अर्को आर्थिक वर्षदेखि कार्ड वितरण सुरु हुनेछ” उनले भने । विभागले पहिलो चरमा १ लाख ६० हजार थान लाइसेन्सलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने जनाएको छ । सुरुवातमा नयाँ लाइसेन्स लिन आउने तथा प्रतिलिपि लिन आउनेका लागि स्मार्ट कार्ड प्रयोगमा ल्याइने छ ।
के हो स्मार्ट कार्ड ?
हाल विभागले कार्यान्वयनमा ल्याउन लागेको स्मार्ट कार्ड प्रचलनमा रहेका एटीएम कार्ड जस्तै हुनेछ । जसमा भिजिवल (देखिने) र नन भिजिवल (नदेखिने) दुई किसिमका जानकारी समेटिएको हुन्छ । भिजिवल जानकारीमा अहिलेको लाईसेन्समा भएजस्तै चालकको परिचय, फोटो, ठेगाना, ब्लडग्रुप, अवधि समाप्त हुने मितिलगायतका जानकारी हुन्छन् । जुन आखाँले देख्न सकिन्छ ।
यसैगरी स्मार्टकार्डमा नदेखिने जानकारी समेत समेटिएको हुन्छ । उक्त स्मार्ट काडमा भएको चिप्सको सहायताबाट कुनै पनि सवारी चालकको सम्पूर्ण जानकारी तत्कालै लिन सकिने छ । जसमा चालकको व्यक्तिगत विवरण, स्वास्थ, विमा, फिङर प्रिन्ट लगायतका जानकारी राखिएको हुन्छ ।
यसैगरी बिल बुकमा भने सवारीको सामान्य जानकारी देखिने गरी राखिएको हुन्छ भने सवारीको अवस्था, कर तिरेको जानकारी गाडीको बिमा, भन्सार प्रज्ञापनपत्रलगायतका विवरण राखिएको हुन्छ ।

कहाँबाट वितरण
सरकारले हस्तलिखित राहादानीको व्यवस्था हटाएर एमआरपी लागू ग¥र्यो । तर यसको वितरणका लागि प्रभावकारी व्यवस्था गर्न नसक्दा अहिलेपछि सर्वसाधारणले ठुलो समस्या झेल्नुपर्ने अवस्था रहेको छ । लाइसेन्स र व्लु बुकको पनि परिवर्तन भएपछि त्यही प्रवृत्ती देखिने हो कि भन्ने जिज्ञासामा प्रवक्ता अधिकारी सहज वितरणका लागि आवश्यक तयारी भइरहेको बताउछन् । पहिलो चरणका काठमाडौंका साथै देशका अन्य तिन स्थानमा केन्द्र राखेर नयाँ लाईसेन्स बनाउन आउने र नविकरण गर्नेका लागि वितरण गरिनेछ ।

“पासपोर्ट लिन सर्वसाधारणले पाएको दुखःजस्तो यहाँ नपाउउन् भनेर हामी सचेत छौं” प्रवक्ता अधिकारीले भने, “त्यसका लागि उपत्यका बाहिर पनि तिन स्थानमा सेवा केन्द्र संचालन गर्ने हाम्रो तयारी छ ।”

विभागले ५ वर्षे योजना बनाएर पहिले लाइसेन्स लिएकालाई पनि विस्तारै परिवर्तत गर्दै लैजाने तयारी गरेको छ । “सबै लाईसेन्स र ब्लुबुक डिजिटल स्मार्ट कार्डमा नलगेसम्म यसको प्रभाव देखिदैन” अधिकारीले भने, “त्यसका लागि वर्षमा १० लाख लाईसेन्सलाई डिजिटललाईज गर्दै ५ वर्षमा सबै स्मार्ट कार्डमा रुपान्तरण गर्ने लक्ष्य रहेको छ ।”

प्रभाव
अहिले प्रचलनमा रहेको लाइसेन्स र व्लु बुकलाई डिजिटल प्रविधिको स्मार्ट कार्डमा परिवर्तन गरेसँगै सवारी संचालन व्यवस्थामा धेरै सजिलो हुन विभागका अधिकारीहरुको भनाई छ । यसबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने, दोहोरो अनुमतिपत्र लिने, कर नतिरी सवारी साधन संचालन गर्ने, बिमा नगर्ने प्रवृत्तीको अन्त्य हुनेछ ।

प्रवक्ता अधिकारीका अनुसार स्मार्ट कार्ड नहुँदा दलालहरुले नक्कली सवारीचालक अनुमतीपत्र बनाउँने, सवारी साधन समन्धी जानकारीका लागि कागजी ढड्डा पल्टाउनुपर्ने अवस्था छ । स्मार्ट कार्ड लागू भएपछि चिप्सको सहयातले गाडीको या चालकको अवस्था तुरुन्तै थाहा पाउन सकिने र यसबाट गलत काम रोकिने उनको भनाई छ ।

यसैगरी अन्तर निकायबिच समन्वयनका लागि समेत सजिलो हुनेछ । कुनै चालकलाई प्रहरीले कारवाही गर्नेवित्तीकै त्यो विवरण उसको स्मार्ट कार्डमा समावेश गरिन्छ । जुन सुचना त्यो चालक जुनसुकै स्थानमा पुगे पनि हेर्न सजिलै हेर्न सकिन्छ । यसबाट गाडीको चोरी, नक्कली लाइसेन्स, कर र कारवाही छल्ने प्रवृत्तीलाई नियन्त्रण गर्न सकिन्छ ।

यसैगरी अहिले सवारीसाधन चलाउदा लाइसेन्स र ब्लुबुक बोकेर हिड्न अप्ठेरो समस्यालाई पनि हल गर्नेछ । बोकेर हिड्न मिल्ने र अहिलेको कागजी जस्तो च्यातिने, भिज्ने जस्ता समस्याबाट पनि चालकले उन्मुक्ती पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ