काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षदेखि चैत मसान्तपछि आएका योजना र कार्यक्रमलाई बजेटमा समावेश नगर्ने भएको छ । समयमै योजना तर्जुमा गर्न ढिलाई भएका कारण बजेट विनियोजनमा समस्या देखिएको भन्दै यसलाई परिवर्तन गर्न लागिएको राष्ट्रिय योजनाका आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।
मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य डा. अधिकारीले विगतमा विभिन्न किसिमका सुझावहरु दिँदा पनि कार्यान्वयन नभएको अवस्थामा अहिले देशको बजेट विनियोजन प्रक्रियालाई नै सुधार गरेर अघि बढ्न लागेको बताए । स्थानिय निकायमा रहेको जनप्रतिनिधी विहिनताको अवस्थामा विकासमा कमि आएको उनले बताए । अबका दिनमा बजेट खर्च गर्न मिल्ने ठोस योजनाहरुलाई प्राथमिकता दिने उनको भनाई थियो ।
कार्यक्रममा अर्थ मन्त्रालयका बजेट शाखा प्रमुख डा. बैकुण्ठ अर्यालले चालु आर्थिक बर्षको ८ महिनामा विकास बजेट २० प्रतिशत खर्च भएको जानकारी दिए । विगत बर्ष भन्दा यो बर्ष तुलनात्मक रुपमा विकास बजेट बढी खर्च भएको उनले बताए । विकास बजेट खर्च नहुनुको पछाडि केही नीतिगत कमजोरीहरु रहेको र त्यसलाई सुधार गर्न मन्त्रालय लागिरहेको उनको भनाई थियो । विकास बजेट खर्च हुने नहुने बारेमा बताउदै उनले भने ‘विगतमा पहिले बजेट ल्याएर मात्रै योजना तयार पारिन्थ्यो त्यसकारण बजेट खर्च गर्न समस्या हुन्थ्यो भने अब हामी बजेट कहाँ कहाँ खर्च गर्न सकिन्छ भनेर पहिले योजना बनाउँछौ त्यसपछि मात्रै बजेट खर्च गर्न सजिलो हुन्छ ।’
त्यसैगरी पूर्व अर्थसचिव युवराज भुसालले सरकारको बजेट ल्याउने प्रक्रियामा नै त्रुटी रहेको बताए । तथ्यलाई भन्दा पनि भावनात्मक कुराहरुलाई जोड दिएर बजेट ल्याइनुले पनि भनेको समय र ठाउँमा बजेट खर्च गर्न नसकिएको बताए । त्यस्तै ठोस रुपमा बजेटको कार्यान्वयन गर्न देशको अहिलेको राजनितीक अवस्थाले पनि ठुलो भूमिका खेलेको उनले बताए । देशमा देखिएको यो स्थितिले युवा जती सबै पलायन भएका छन् । युवा जनशक्ति देशमा नहुदाँ पनि विकास निर्माणले गति नसकेको हो उनले भने ‘युवा शक्तिलाई देशमै परिचालन गर्नको लागि कृषि पर्यटन जस्ता कार्यक्रमहरु लागु गरेर पर्याप्त मात्रामा बजेट राखेर युवालाई देशमै रोजगारी दिन सक्यौ भने देशको विकास हुन्छ ।’
राष्ट्रिय व्यपार संघका अध्यक्ष कुमार कार्कीले सरकारको अहिलेको बजेट विनियोजन देखि खर्च गर्ने सम्मको प्रक्रिया नै गलत भएको बताए । बजेट खर्च भईसके पछि त्यसले सकारात्मक परिणाम दिनु पर्नेमा कार्कीले जोड दिए ।
प्रतिक्रिया