काठमाडौं । नेपाल राष्ट्र बैंकले माओवादी द्वन्द्वकालमा विस्थापित भएका सरकारी बैंकका सबै शाखा चालु आर्थिक वर्षभित्र पुनःस्थापना गर्न निर्देशन दिएपनि बैंकहरुले अटेर गरेका छन् । आर्थिक वर्ष सकिन ४ महिनामात्र बाँकी रहदा अझै डेढ सय भन्दा बढी शाखा पुनः स्थापित हुन सकेका छैनन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा चालु आवभित्र द्वन्द्वकालमा विस्थापित सरकारी स्वामित्व रहेका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकका सबै शाखालाई पुनः स्थापित गर्ने घोषणा गरेको थियो । तर, आर्थिक वर्ष सकिन थोरै समय रहेको र खुल्न बाँकी शाखा धेरै रहेकाले राष्ट्र बैंकको लक्ष्य पुरा नहुने देखिएको हो ।
अझै तिन वटा बैंकका एक सय ६४ वटा शाखा पुनः स्थापना हुन बाँकी रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी नेपाल बैंकको ९७ वटा शाखा रहेका छन् । यसैगरी राष्ट्रिय बाणिज्य बैंकका ५२ वटा र कृषि विकास बैंकका १५ वटा शाखा खोल्न बाँकी रहेको राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले जानकारी दिए ।
“तिनवटै बैंकबाट विस्थापित शाखा खोल्ने कार्य योजना मागेका थियौं” श्रेष्ठले भने, “त्यसै अनुसार विस्थापित शाखा पुनः स्थापना हुने क्रममा छन् ।”
माओवादी द्वन्द्वका समयमा गाउँमा असुरक्षा बढेको भन्दै तिनवटा बैंकको २ सय ८४ वटा शाखा सदरमुकाममा विस्थापित भएका थिए । द्वन्द्व समाप्त भएको १० वर्षे अवधिमा सबैभन्दा बढी कृषि विकास बैंकले शाखा पुनः स्थापित गरेको छ ।
बैंकका ५२ शाखा पुन खुलेका छन् । यसैगरी राष्ट्रिय बाणिज्य बैंकले ४५ र नेपाल बैंकले २३ शाखा पुनः खोलेको राष्ट्र बैंकले जनाएको छ ।
शहरी क्षेत्रबाट विस्थापित शाखा खुलेपनि दुर्गम गाउँमा रहेका शाखा भने पुनः स्थापित हुन नसकेको बताइएको छ । ग्रामीण क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी खासै नहुने र संचालन खर्च मात्र बढी हुने भएकाले बैंकहरुले शाखा खोल्न अटेर गरेका हुन् ।
बैंकहरुले शाखा नखोलेपछि कतिपय ठाउमा स्थानियवासीले शाखा पुनःस्थापनाको माग गर्दै दवावका कार्यक्रम समेत गरेका छन् ।
शाखा पुनः स्थापनाको माग गर्दै विभिन्न ठाउमा आन्दोलन हुन थालेपछि गत असोजमा व्यवस्थापिका संसद अन्र्तगतको अर्थ समितिले पनि माओवादी द्वन्द्वकालमा विस्थापित भएका शाखा सोही स्थानमा तत्काल पुनः स्थापित गर्न निर्देशन दिएको थियो ।
शाखा पुनः स्थापनाका लागि राष्ट्र बैंकमा कार्ययोजना बुझाएको बैंकहरुमध्ये कृषि विकासले चालु आवभित्रै शाखा खोलिसक्ने प्रतिवद्वता गरेपनि राष्ट्रिय बाणिज्य र नेपाल बैंकले भने अर्को आर्थिक वर्षसम्मको समय सिमा मागेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्मा शाखा पुनः स्थापनाका लागि बजारको सम्भाव्यता अध्ययन गर्नुका साथै भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने भएकाले ढिलाई भएको बताउँछन् । “हामीले अर्को आर्थिक वर्षसम्मका लागि समय सिमा राखेका छौं” उनले भने, “त्यसबेलासम्म सबै शाखा पुनः स्थापना गछौं ।” कतिपय शाखा संचालन गर्न नसक्ने भएकाले त्यस्ता स्थानमा ब्रान्चलेस बैंकिङ सेवा संचालन गरी सेवा दिइने उनको भनाई छ ।
ग्रामीण क्षेत्रमा शाखा संचालन गर्दा घाटा हुने भएकाले निजी बैंकहरु जादैनन् । त्यस क्षेत्रका सर्वसाधारणलाई सेवा पु¥याउन सरकारी बैंकले शाखा खोलेका हुन् ।
राष्ट्र बैंकले अहिले निजी बैंकलाई पनि गाउँ पु¥याउनका लागि शाखा विस्तारमा कडाई गर्दै आएको छ । यस नीति अनुसार निजी बैंकले उपत्यकामा शाखा विस्तारका लागि तोकिएका दुर्गम जिल्लामा शाखा खोल्नैपर्ने प्रावधान राखेको छ ।
०७१ पुससम्म संचालनमा रहेका १ सय ९७ बैंक तथा वित्तीय संस्थाले २ हजार ७ सय ६ शाखामार्फत सेवा दिइरहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक पुनःस्थापित शाखा पुनः स्थापना हुन बाकी
नेपाल बैंक २३ ९७
राष्ट्रिय बाणिज्य बैंक ४५ ५२
कृषि विकास बैंक ५२ १५
प्रतिक्रिया