वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नक्कली सेयर कारोबारमा २ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने

अर्थटुडे
२०७१ चैत्र २, सोमबार

काठमाडौं । नक्कली सेयर प्रमाणपत्र बनाई कारोबार भएको घटनाबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले छानविन सुरु गरेको छ । १०—१२ जनाको समूह बनाएर नै नक्कली सेयर कारोबारमा सक्रिय भएको खुलेपछि नेप्सेले अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६), जेएफ सेक्युरिटिज (ब्रोकर नं. ७), सुप्रवि सेक्युरिटिज (ब्रोकर नं. २२) र श्रीहरि सेक्युरिटिज (ब्रोकर नं. ५६)लाई निलम्बन समेत गरेको छ । अहिले यो विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट नक्कली कारोबार गरेको प्रमाणीत भएमा के होला त कारवाही ?

fake trading

धितोपत्र सम्वन्धि ऐन, २०६३ ले स्पष्ट रुपले कसुर र कारवाहीको व्यवस्था गरेको छ । नियामक निकायले दोषीलाई कारवाही गर्ने साहस देखाउने हो भने त्यस्ता अभियुक्तलाई २ वर्षसम्म जेल सजाई र अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

विश्लेषक हरिबोल काफ्ले भने नियामक निकायले कारवाही नगरेकाले बेला बेलामा यस्ता घटनाहरु दोहोरीरहेको बताउछन् ।

धितोपत्र ऐनमा यस्तो छ कानुनी व्यवस्था :

१) भित्री कारोबार

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा त्यस्तो कारोबारलाई भित्री कारोबार भनिन्छ । भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिः संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, वा माथि उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति ।

२) झुटो कारोबार
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरीद बिक्री भएतापनि वास्तविक स्वामित्वमा फरक नपरेमा वा अर्कोले खरीद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोही सँग मिल्ने गरी खरीद वा बिक्री गर्न प्रस्ताव गरेमा त्यसलाई झुटो कारोबार भनिन्छ ।

३) मूल्य उतार चढाव

झुटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा त्यसलाई मूल्य उतार चढाव भनिन्छ ।

४) बजार प्रभावित पार्ने

कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरीद वा बिक्री नगरोस् भन्ने उद्देश्यले झुक्याउने विवरणहरु दिई कुनै कम्पनीले जारी गरेको धितोपत्र बजार मूल्य बढाउने वा घटाउने कार्यलाई बजार प्रभावित पार्ने कसुर भनिन्छ ।

५) अन्य कसुरहरु
– झुक्याउने विवरणहरु दिने
– जालसाजीयुक्त कारोबार
– लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा

कारवाहीहरु
-सचेत गराउने वा लिखित चेतावनी दिने
– सुधारात्मक कदम चाल्नका लागि आदेश दिने
– बजार वा ब्यसायीको कारोबारमा पूर्ण वा आशिंक प्रतिबन्ध लगाउने
– आर्थिक जरीवाना गर्ने
-अनुमतीपत्र निलम्बन वा खारेजी गर्ने
सजायहरु
– भित्रि कारोवारको हकमा एक वर्ष कैद वा विगो बमोजिम जरीवाना वा दुवै सजाय
– धितोपत्रको बजार मूल्यमा कृतिम उतार चढाव ल्याउने कार्यको हकमा एक वर्ष कैद वा रु. ५०,००० देखि रु.१,५०,००० सम्म जरीवाना वा दुवै सजाय र कसैलाई हानी नोक्सानी भएको रहेछ भने सो भराई दिनुपर्ने
– धितोपत्र सम्बन्धी झूठा प्रचार प्रसार, जालसाजी कारोवार, अभिलेख नष्ट गर्ने वा लुकाउने कार्य हकमा दुई वर्ष कैद वा रु. १,००,००० देखि रु.३,००,००० सम्म जरीवाना वा दुवै सजाय र कसैलाई हानी नोक्सानी भएको रहेछ भने सो भराई दिनुपर्ने

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ