काठमाडौं । सेयर वितरण प्रक्रिया सुरु भएपछि सुरु भएको विवादले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण तीन दिनदेखि ठप्प छ । जलविद्युत् आयोजनामा कार्यरत मजदुरले ५ सय कित्ताका दरले सेयरको माग गर्दै हड्तालमा उत्रिएका छन् भने स्थानीयवासीले पनि अतिरिक्त सेयर माग गर्दै सिंगटीमा प्रदर्शन गरिरहेका छन् । निर्माणाधिन आयोजनाको काम बन्द भएपछि तोकिएको समयमा काम पुरा नहुने भएको छ ।
आयोजनामा कार्यरत मजदुरले थालेको आन्दोलनका कारण शुक्रबारदेखि आयोजनाको बाँध स्थल, सुरुङमार्ग, विद्युतगृह निर्माणको काम रोकिएको छ ।
तामाकोसी आयोजनाको प्रवन्धपत्रमा मजदुरका लागि सेयरको व्यवस्था गरिएको छैन । कम्पनीको प्रवन्धपत्रमा ऋण लगानीकर्ता कम्पनीका कर्मचारी, संचय कोषका संचयकर्ता, विद्युत प्राधिकरणका कर्मचारी र दोलखावासी र सर्वसाधारणलाई सेयर छुट्याएको छ ।
आयोजनामा सिभिल निर्माण गर्ने ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले लिएको छ । कम्पनीमा ११ सय मजदुर कार्यरत रहेको बताइएको छ ।
जिल्लाका उत्तरी क्षेत्रका स्थानीयले समेत आयोजनाको गाडी ओहोरदोहोरमा अवरोध पु¥याएका छन् । उनीहरुको अवरोधले निर्माण सामग्री बोकेर आयोजना स्थल हिँडेका ३५ भन्दा बढी मालवाहक ट्रक बीच बाटामै रोकिएका छन् ।
बन्द खुलाउन स्थानीयस्तरमा वार्ता भएपनि सहमति भएको छैन ।
प्रतिक्रिया