काठमाडौं । सेयर विवादले १ सातादेखि कामै ठप्प भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर अनिश्चितकालका लागि स्थगित गरिएको छ । पहिलो चरणमा लगानीकर्ता संस्थाका कर्मचारी र सञ्चयकर्ताको आवेदन संकलन सकिएपछि स्थानीयको सेयर आवेदन संकलन गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला अचानक यो प्रक्रिया स्थगित गरिएको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले जनाएको छ । आयोजनामा कार्यरत मजदुर र आयोजनावरिपरिका स्थानीयले आन्दोलन गरेपछि हाल आयोजनाको भौतिक निर्माण ठप्प छ ।
कम्पनी सञ्चालक समितिको बैठकले स्थानीयका माग सम्बोधन हुने गरी थप निर्णय गर्न हाललाई सेयर वितरणका सबै प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । जिल्लास्तरीय समन्वय समितिको फागुन ११ को निर्णय विधिसम्मत् ढंगले कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति आवश्यक भएको भन्दै प्रक्रिया स्थगित गरिएको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बोर्डबाट प्राप्त हुने निर्देशन\सहमति\स्वीकृतिबमोजिम थप प्रक्रिया अघि बढाउनुपर्ने अवस्था रहेकाले अब दोलखाबासीलाई छुट्ट्याइएको १० प्रतिशत सेयर सुनिश्चित गरी छुट्टै विवरणपत्र प्रकाशित गर्ने तयारी भइरहेको छ । आयोजनालाई तत्काल रकम आवश्यक परेकाले चाँडै सेयर जारी गरिनेछ ।
आयोजनाले शनिबार विज्ञप्ति जारी गर्दै आयोजनाको प्रवेशमार्ग र निर्माण कार्य अवरुद्ध भइरहँदा आयोजनाको समय तालिका लम्बिने र लागतसमेत बढ्ने अवस्था आएको बताएको छ । “मुलुकमा विद्यमान ऊर्जा संकटलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय गौरवको आयोजनामा अवरोध हुनु सबैका लागि दुःखद विषय हो,” विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले श्रम कानुन विज्ञसहित सम्बद्ध श्रमिकका प्रतिनिधिको सहभागितामा वार्ता गर्ने निर्णय भएकाले हाल जारी हड्ताल तत्काल स्थगन गरी वार्तामा सहभागी हुन आन्दोलनरत श्रमिकहरूलाई आह्वान गरेको छ ।
प्रतिक्रिया