वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माथिल्लो तामाकोसीमा माग भन्दा ७ गुणाबढी आवेदन,एक चौथाई सञ्चयकर्ताले मात्र भरे तामाकोसीको सेयर

अर्थटुडे
२०७१ चैत्र १६, सोमबार

शर्मिला ठकुरी\काठमाडौं । माथिल्लो तामाकोसी हाइड्रोपावरले पहिलो चरणमा आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारी तथा सञ्चयकर्ताहरुको लागि खुल्ला गरेको सेयरको ७ गुणा बढी आवेदन परेको छ ।

ऋणदाता कम्पनीहरुको कर्मचारी तथा सञ्चयकर्ताहरुको लागि कुल २ अर्व ५४ करोड १४ लाख ९५ हजार ४०० रुपैयाँ बराबरको सेयर आवेदन माग गरिएकोमा १८ अर्व १९ करोड ४७ लाख बराबरको सेयर आवेदन परेको आयोजनाको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ । tamakoshi

कोषका अनुसार कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ताहरुका लागि एक अर्व ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर आवेदन माग गरिएकोमा कुल १६ अर्व ९९ करोड रुपैयाँको आवेदन परेको छ । यो करिव १० गुणाले बढी हो ।

साढे चारलाख भन्दा बढी सञ्चयकर्ता रहेकोमा एक लाख १७ हजार ६५९ जनाले मात्र अपर तामाकोसीको सेयरमा आवेदन दिएको कोषका प्रबक्ता शुशिल अर्यालले जानकारी दिए ।

त्यसैगरी आयोजनामा ऋण लगानी गर्ने नागरिक लगानी कोषका ११६ कर्मचारीहरुले ३ करोड ६५ लाख बराबरको सेयर आवेदन भरेका छन् । उनीहरुको लागि आयोजनाले तीन करोड चारलाख ९९ हजार २०० रुपैयाँ बराबरको सेयर छुट्याएको थियो ।

कर्मचारी संचय कोषका कर्मचारीहरुका लागि १५ करोड २४ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर छुट्याएकोमा ४ सय ८० कर्मचारीले १५ करोड ३१ लाख बराबरको सेयर आवेदन भरेका छन् ।

त्यस्तै नेपाल दुर संचार कम्पनीका कर्मचारीहरुका लागि नौ करोड १४ लाख रुपैयाँ बराबरको सेयर छुट्याएकोमा ३ हजार ६१० कर्मचारीहरुद्धारा ८ करोड २४ लाख बराबरको सेयरका लागि आवेदन दिएका छन् ।

राष्ट्रिय बीमा संस्थानका १९२ कर्मचारीहरुले ३ करोड रुपैयाँ बरारबरको मात्र सेयर आवेदन भरेका छन् । कर्मचारीका लागि आयोजनाले तीन करोड ४ लाख ९१ करोड २०० बराबरको सेयर छुट्याएको थियो ।

नेपाल बिद्युत प्रधिकरणका १३ हजार ५७२ कर्मचारीहरुले ९० करोड २६ लाख बराबरको सेयरका लागि मात्र आवेदन दिएका छन् । उनीहरुको लागि आयोजनाले ४० करोड ६६ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर छु्याएको थियो । आयोजनाले आयोजनालाई ऋण दिने कर्मचारी र सञ्चयकर्ताहरुको लागि पहिलो चरणमा सेयर खुल्ला गरेको थियो ।

आयोजनालाई ऋण दिने सञ्चय कोष, नेपाल टेलिकम, बिमा संस्थान र नागरिक लगानी कोषका कर्मचारीका लागि भने आफ्नै कार्यालयमा दरखास्त फारम बुझाउने व्यवस्था गरिएको थियो ।

सञ्चय कोषमा रकम जम्मा गर्नेले नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंक लिमिटेड, कमलपोखरी र वाणिज्य बैंकका ६५ शाखा कार्यालयबाट दरखास्त फारम बुझाउने व्यवस्था गरीएको थियो । प्रबक्ता अर्यालका अनुसार सम्पुर्ण कर्मचारी तथा सञ्चयकर्ताहरुले सेयर आवेदन भर्न पाउन् भन्ने सोचाइका साथ समय थपेपनी सोचेजति आवेदन नआएको बताएका छन् ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी हाइड्रोपावर सस्तो लागतमा बन्न लागेका आयोजनामध्ये एक हो । यसको प्रतिकिलोवाट उत्पादन लागत एक हजार अमेरिकी डलरभन्दा कम छ । जब कि चमेलियालगायत अन्य केही आयोजनाको उत्पादन लागत ३ हजार अमेरिकी डलरभन्दा माथि छ ।

यो आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग हिउँद र वर्षामा गरी औसत ४ रुपैयाँ ५० पैसा प्रतियुनिटका दरले विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ।
दोलखाको लामाबगरमा बन्न लागेको आयोजनाको कुल लागत सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ भनिएको थियो । अहिले अमेरिकी डलरको विनिमय दर बढेका कारण ४१ अर्ब रुपैयाँ हाराहारी पुगेको छ। २०६८ सालमा बनाउन सुरु गरिएको यो आयोजनाका धेरै काम सकिएका छन् । यसले २०७३ मंसिरबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

परियोजनामा सरकारले नपुग हुने ११ अर्ब रुपैयाँ लगानी गर्नेछ भने विद्युत प्राधिकरणले ४१ प्रतिशत लगानी गर्दैछ। यो आयोजनामा नेपाल टेलिकमले ६ अर्ब, कर्मचारी सञ्चय कोषले १० अर्ब, बिमा संस्थान र नागरिक लगानी कोषले २–२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर लगानीमा बन्दैछ। यसको पुँजी संरचनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर छ। संस्थापकमा विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थान छन्।

४९ प्रतिशतमा साधारण सेयरमध्ये सर्वसाधारणको १५ र दोलखाबासीको १० प्रतिशत हिस्सा रहने छ। बाँकी २४ प्रतिशत लगानी चारवटा संस्थापक कम्पनी र आयोजनामा ऋण लगानी गर्ने वित्तीय संस्थाका कर्मचारीको हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ