काठमाडौँ । पत्रकार एकराज पाठकद्वारा लिखित ‘सूचनाको हक प्राप्ति र प्रयोग’ पुस्तक आज यहाँ सार्वजनिक गरियो । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादकसमेत रहनुभएका पाठकको सूचनाको हकसम्बन्धी यो तेस्रो पुस्तक हो । पुस्तकमा विश्वमा सूचनाको हकको अवधारणा, नेपालमा यसको अभ्यास, कानुनी मान्यता, कार्यान्वयनका पक्षमा देखिएका सफलता र असफलताका विषय समेटिएका छन् ।
कान्तिपुर सिटी कलेज, आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आयोजित कार्यक्रममा सो विभागका प्रमुख तथा बरिष्ठ पत्रकार प्रा.रामकृष्ण रेग्मीले पुस्तक लोकार्पण गर्दै सूचनाको अधिकार जनजीवनसँग जोडिएकाले यस विषयमा अध्ययन, प्रकाशन र विमर्श गर्नु सान्दर्भिक हुने बताए ।
उनले कुनै पनि शासक वा सांसद्ले नागरिकको सूचनाको अधिकारलाई रोक्न नसक्ने उल्लेख गर्दै
लेखक पाठकको कृति सूचनाको हकसम्बन्धी सवालमा देश÷विदेशका अध्येता र पत्रकारका लागि सन्दर्भसामग्री हुने बताए ।
पुस्तकको समीक्षा गर्दै कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले सूचनको हकसम्बन्धी ऐन, २०६४ लाई पत्रकारले नै पर्याप्त प्रयोग गर्न नसकेको बताउँदै सरकारी कार्यालयमा पत्रकारितामा स्नातक गरेकालाई सूचना अधिकृतमा नियुक्तिको प्रणाली स्थापित गर्न सुझाव दिए ।
अर्का समीक्षक अन्नपूर्ण पोष्ट दैनिकका नायब सम्पादक चूडामणि भट्टराईले सूचनाको हकका बारेमा पत्रकारको आँखाले हेरिएको सो पुस्तक पठनीय छ भन्दै पुस्तकले पत्रकारले कसरी सूचनाको हक प्रयोग गर्न सकिन्छ भन्ने बारेमा पनि सिकाएके बताए । पैरवी प्रकाशनद्वारा प्रकाशित सो पुस्तक २१६ पृष्ठ र मूल्य रु ३४५ छ ।
पुस्तकका लेखक पाठकले नागरिक आवाजलाई उजगार गर्ने क्रममा पुस्तक तयार गरेको बताउनुभयो । आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन समेत गर्नुहुने पाठकका यसअघि सूचनाको हक विषयमा ‘सूचना सङ्घर्ष’ र ‘सूचना शक्ति’ पुस्तक प्रकाशित छन् ।
प्रतिक्रिया