काठमाडौं । अर्थमन्त्री डा.महतले आर्थिक एजेण्डाले प्राथमिकता पाएमा नेपालले चाँडै नै छिमेकी मुलुक भारत र चीनको जस्तो उच्च आर्थिक बृद्धि हासिल गर्न सक्ने बताए । नेपाली कांग्रेस जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। महतले नेपालमा हरेक क्षेत्रमा राजनीतिकरण हुने गरेको बताउँदै अव पहिलो, दोस्रो र तेस्रो तीनवटै प्राथमिकता आर्थिक गतिविधि विस्तार हुनुपर्ने बताए ।
साधन र स्रोत भएर पनि नेपाल पछि परेको छ अर्थमन्त्री डा.महतले भने —साधन र स्रोतको सदुपयोगका लागि पनि सिर्जनशिलता र मेहनत आवश्यक रहेको छ । नयाँ सरकार आएपछि आर्थिक विकासलाई जोड दिएका कारण अहिले ठूलो मात्रामा लगानी आइरहेको बताउँदै अर्थमन्त्री डा महतले भने –जलविद्युत, एयरलाइन्स, होटेल सिमेन्ट जस्ता क्षेत्रमा ठूलो लगानी आइरहेको छ ।
जलविद्युतमा मात्र करिब १२ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आइसेकेको छ । अव छिटै नेपालले आर्थिक विकासमा ठूलो फड्को मार्नेछ उनले भने । आर्थिक विकासमा ठूलो प्रगति हासिल गर्न ठूलो मेहनत र कटिवद्धता आवश्यक भएको बताउँदै उनले भने, मानसिकतामा पनि ठूलो परिवर्तन ल्याउनु आवश्यक छ ।
हामी नकारात्मक सोचले ग्रसित छौं, यसबाट मुक्त नभएसम्म सम्पन्नता र समृद्धि हासिल हुन सक्दैन । धनी भएर मात्र सम्पन्न हुन सकिदैन, समृद्धि हासिल हुन सक्दैन उनले भने ।
प्रवासमा बसेका नेपालीहरु एक भएर प्रतिष्ठापूर्ण काम गर्नुपर्नेमा जोड दिदै उनले तपाईहरु शिक्षित जमात हो,तपाईहरुले नेपालमा लगानी ल्याउन पनि ठूलो मद्दत गर्न सक्नुहुन्छ भने । अर्थमन्त्री डा.महतले प्रवासका नेपालीका समस्या, चिन्ता तथा चासोहरुलाई सम्बोधन गर्न सरकार तयार रहेको समत दावी गरे ।
उनले अस्ट्रेलियाबाट नेपाल पठाउने आफ्नो आम्दानीलाई औपचारिक च्यानलबाट मात्र पठाउन पनि प्रवासी नेपालीहरुलाई आग्रह गरे । सो कार्यक्रममा गैर आवासीय नेपाली संघका प्रवक्ता मन केसी तथा अन्य वक्ताहरुले समेत बोलेका थिए ।
प्रतिक्रिया