काठमाडौं । थोत्रा बस, च्यातिएको सिट, सिसा फुटेको झ्याल, फोहोर र गन्हाउने । केही वर्षअघिसम्म यस्तै थियो सार्वजनिक बसको हालत । त्यसमाथी बस चढ्न सिट पाउनै मुस्किल, गाडीवालासँग भाडाको किचकिच, समयैमा नपुगिने । यस्तै थिए सार्वजनिक यातायात चढ्ने सर्वसाधारणका गुनासो । यही कारण गाडी चढेर आएको भन्दा नाक खुम्च्याउने जमाना अब बिस्तारै बदलिदै गएको छ ।
सडकमा अत्याधुनिक र सुविधासम्पन्न सवारीसाधन चल्न थालेपछि सार्वजनिक यातायात सेवाको प्रयोग गर्ने सर्वसाधारणले आरामदायी यात्रा गर्न पाउन थालेका छन् । लामो दुरुका बसदेखि छोटो दुरीमा चल्ने र सहरमा चल्ने सिटी यातायातले समेत सर्वसाधारणलाई आकर्षित गर्नका लागि विभिन्न आधुनिक सेवा सुविधा दिन थालेका छन् । केही वर्षअघिसम्म यात्रुलाई गाडीमा चढ्न दिदैमा ठुलो काम गरेको ठान्ने यातायात व्यवसायीहरु यतिवेला भने यात्रुलाई बढी भन्दा बढी सेवा दिनका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
विषेश गरी लामो दुरी र पर्यटकीय गन्तव्यमा आरामदायी सिटसहितका एसी र डिलक्स बस गुड्न थालेका छन् । साधारण बसमा भन्दा केही महंगो भाडा भएपनि यात्रुहरुले पैसा तिरेपछि आरामदायी यात्रा गर्न सक्नुहुन्छ । भिडियो कोच त धेरै पुरानो भइहाल्यो यसबाहेक गाडी कम्पनीहरुले निशुल्क रुपमा बाईफाईका साथै पानी, स्न्याक्सलगायतका सेवा सुविधा दिन थालेका छन् । गाडी कम्पनीहरुबिच सेवा सुविधामा प्रतिस्पर्धा नै चलेको छ ।
“सार्वजनिक सवारीसाधनमा यात्रुहरुलाई बढी भन्दा बढी सेवा दिने प्रतिस्पर्धा नै चलेको छ” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी भन्छन्, “विस्तारै बसबाट गरिने यात्राको परिभाषा नै बदलिदैछ ।”
भिडियो कोच, एसी र वाईफाई
केही वर्षसम्म लामो दुरुमा चल्ने रात्री सवारीसाधनले यात्रुलाई आकर्षित गर्न गाडीमा भिडियो कोच सहित भन्ने नारा राख्थे । अब यो नारा पुरानो भइसक्यो । अहिले गाडी कम्पनीहरुले भिडियोसँगै एसी, डिलक्स र वाईफाइ सुविधा राख्ने होड नै चलेको छ ।
सुरुमा पर्यटकिय गन्तव्यहरुमा चल्ने पर्यटक बसबाट सुरु भएको यी सेवा दिने होडबाजी विस्तारै सार्वजनिक यातायातमा पनि चलेको छ । विषेश गरी पुर्वका जिल्लाहरुमा चल्ने सवारीहरु आधुनिक सुविधा सम्पन्न हुने गरेका छन् । पुर्वका जिल्लामा चल्ने मेट्रो, मितेरी, फेसबुक, चितवन सफारी, एडभान्स, नमस्ते, मकालु, सितालगायतका बसहरुले एसी र डिलक्स सेवाका साथै वाईफाई पनि दिएका छन् । यस्तै पश्चिममा पनि सुविधासम्पन्न डिलक्स बसहरु चलिरहेका छन् ।
यस्ता बसमा एसी, पंखा, लचकतार र आरामदायी सिट हुन्छ । बसको अन्तिम सिटमा बसे पनि कुनै थकावट महशुस नहुने व्यवसायीहरु बताउछन् । यसबाहेक बसहरुले यात्रुलाई पानी र स्न्याक्स दिने सुविधा पनि राखेका छन् । कतिपय बस कम्पनीहरुमा यात्रुलाई खाना खुवाउने सुविधा समेत राखेका छन् भने यी सुविधा नराखेका कम्पनीहरुले पनि स्तरीय होटलमा लैजाने गरेका छन् । विगतमा गाडी ड्राइभरहरुले कमिसन लिने गरी एकान्तमा रहेका होटलमा गाडी रोक्ने र यात्रुहरुले महंगोमा बासी खाना खानु परेको गुनासो गर्दै आएका छन् ।
यसैगरी पछिल्लो समयमा लोकप्रिय भएको सुविधा निशुल्क वाईफाई हो । गाडी कम्पनीहरुले आधुनिक सुविधा दिने होडमा निशुल्क वाईफाई सुविधा दिएका छन् । यी सुविधाले गर्दा मोवाइल र ल्यापटप भएका यात्रुहरुले यात्राअवधिभर निःशुल्क इमेल–इन्टरनेट चलाउन सक्नेछन् । व्यवसायीका अनुसार लामो दुरुमा चल्ने ५ दजर्न भन्दा बढी यातायात कम्पनीले यो सुविधा दिएका छन् ।
यात्रुहरुको मन जित्दै
एसी र डिलक्स बसहरुका कारण सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्ने सर्वसाधारणको सख्या समेत बढ्दै गएको छ । यी गाडीहरुले सुरक्षित रुपमा तोकिएको समयमै गन्तव्यमा पु¥याउने भएकाले सजिलो भएको चितवन–काठमाडौैं यात्रा गर्ने केशब थापा बताउछन् । “नयाँ गाडीहरु आएपछि गाडीबाट ओहोरदोहोर गर्न सजिलो भएको छ” उनले भने । चितवन सफारीबाट यात्रा गर्ने गरेका उनले सवारीसाधनको थपिदो सुविधाले सजिलो भनेको बताए ।
सवारी साधनको कारण हवाईमार्ग प्रयोग गर्ने उच्च वर्गका व्यक्तिहरु प्नि विस्तारै सार्वजनिक सवारीसाधनतर्फ आकर्षित हुन थालेका छन् ।
यी सुविधा भएका बसहरुले अन्य साधारण बसभन्दा भाडा भने सामान्य महंगो लिने गरेका छन् । व्यवसायीका अनुसार डिलक्स बसहरुमा अन्य बसभन्दा २० प्रतिशतसम्म महंगो र एसी सुविधा भएको बसमा ४० प्रतिशत महंगो हुने गरेको छ । सुविधाहरु थप पाउने आरामदायी यात्रा गर्न पाउने भएकाले सर्वसाधारणहरु महंगो भाडा तिर्न पनि तयार रहेको व्यवसायीहरु बताउछन् ।
अनलाईनमै टिकट
यस्ता सुविधासम्पन्न गाडीहरुमा यात्रा गर्न चाहाने यात्रुहरुका लागि अर्को सुविधा छ, अनलाईन मार्फत नै टिकट खरिद गर्ने । यात्रा गर्नका लागि यात्रुहरुले गाडीको काउन्टरमा पुगेर लाईन लागेर टिकट काट्नुपर्छ भन्ने छैन । गाडी कम्पनीहरुले अरु कम्पनीसँग सहकार्य गरी अनलाईन मार्फत टिकट खरिद गर्न सकिने सेवा दिएका छन् ।
“अहिले बसको टिकट काट्नका लागि गाडीको काउन्टरमै पुग्नुपर्छ भन्ने छैन” अनलाईन टिकेटिङ सेवा दिदै आएका बससेवा डटकमका कार्यकारी प्रमुख पर्शुराम खनाल भन्छन्, “तपाईले घरैमा बसेर टिकट काट्न सक्नुहुन्छ, मोवाईलमै टिकट आईपुग्छ ।”
खनालको अनुभवमा पछिल्लो समयमा गाडी कम्पनीहरुले सुविधासम्पन्न गाडी थपेकोका कारण गाडीमार्फत यात्रा गर्नेको सख्या बढ्दै गएको छ । हवाईजहाजबाट यात्रा गर्ने सर्वसाधारणहरु पनि पाएसम्म गाडीबाट यात्रा गर्न थालेको उनले बताए ।
प्रतिक्रिया