काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दर्जनौं बैंक तथा वित्तीय संस्थाको मर्जर प्रक्रियाका कारण लामो समयसम्म सेयर किनबेच रोकिएको छ । सूचीकृत कम्पनीको सेयर कारोबार रोकिएपछि हजारौं सेयरधनीले सेयर बिक्री पाएका छैनन् । मर्जरको कारण देखाउदै लामो समयसम्म कारोबार रोकिदा एकातिर लगानीकर्ता प्रभावित भएका छन् भने अर्कोतर्फ दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार पनि घटेको छ ।
मर्जर प्रक्रिया सुरु भएपछि नेप्सेको कारोबार रोकिन्छ । ती कम्पनीको विभिन्न कारणले मर्जर रद्द भइसक्दा पनि कारोबार नखुल्दा सेयर लगानीकर्ता थप समस्यामा परेका छन् । एक संस्थासँग मर्जर प्रक्रिया असफल भएपछि अर्को संस्थासँग पुनः मर्जर सम्झौता गर्नाले सेयर लगानीकर्ता लामो समय कारोबार रोकिँदा लगानीकर्तालाई मात्र नभई नेप्से तथा सरकारलाई समेत घाटा पुगेको छ । मर्जरका नाममा हुने सेयर कारोबार रोक्का छोटो समयका लागि हुनुपर्ने लगानीकर्ताको सुझाव छ । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा समिति तथा नेप्सेले छलफल गरेर मर्जरका कारण लामो समय हुने सेयर कारोबार रोक्काको समाधान खोज्नुपर्ने उनीहरु बताउछन् ।
हाल नेप्सेमा ३ वाणिज्य बैंकसहित २८ कम्पनीको कारोबार रोकिएको छ । यति धेरै कम्पनीको कारोबार नहुँदा सेयर बजारको माग र आपूर्तिमा असर परेको विश्लेषक बताउँछन् । “मर्जरका नाममा सेयर कारोबार रोकिनु लगानीकर्ताका लागि घाटा हो,” विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, “मर्जर रद्द भइसक्दा पनि कारोबार नखुल्नु झनै अन्यायपूर्ण छ, यसले बजारको कारोबार रकम तथा सेयरको माग र आपूर्तिमा समेत असर गर्छ, मर्जर हुन नसकेका कम्पनीको तत्कालै कारोबार खुलाउनुपर्छ ।”
लगानीकर्ताको एउटै कम्पनीको सेयर धेरै लामो समयसम्म रोकिँदा लगानीमा विविधता अर्थात् सेयर किनबेच हुन नपाएकाले कारोबारमा कमी आएको छ । ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्तालाई सेयर बिक्री गर्न नपाउँदा ऋण तथा ब्याजको चपेटामा पर्ने गरेका छन् । अधिकांश कम्पनीको कारोबार रोकिएको ६ महिना नाघेको छ ।
हाल नेप्सेमा कारोबार रोकीएका कम्पनी मध्ये केहि कम्पनीको मर्जर प्रक्रिया सुरु भएपनि पुरा हुने नहुनेमा संङका रहेको उनको बुझाइ छ । सेयरको लगानी चाहेको बेलामा नगदमा परिवर्तन गर्न सकिने भनिए पनि अनिश्चित समयसम्म कारोबार रोकिँदा सम्बन्धित कम्पनीका साधारण सेयरधनी निराश छन् ।
राष्ट्र बैंकले जारी गरेको ‘मर्जरसम्बन्धी विनियमावली २०६८’ मा मर्जरमा जाने सम्बन्धित संस्थाले सहमति गरी आवश्यक कार्ययोजनासहित केन्द्रीय बैंकमा प्रारम्भिक निवेदन दिँदा धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का गरेको पत्रसमेत संलग्न गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्थाका कारण साधारण सेयरधनी समस्यामा परेका हुन् । सो विनीयमावली अनुसार सामान्यतया मर्जर प्रक्रिया सुरु भएको ६ महिनाभित्र पूरा गर्नुपर्छ । तर, मर्जरका नाममा वर्षौ कारोबार रोक्का हुँदा समेत सम्बन्धीत निकायले ध्यन दिएको छैन ।
मर्जरका कारण देखाउदै कारोबार रोक्का भएका कम्पनी
- बैंक अफ काठमाण्डू
- इन्टरनेसनल फाइनान्स एण्ड लिजिङ
- श्री इन्भेष्टमेनट फाइनान्स
- नेपाल एक्सप्रेस फाइनान्स
- मञ्जु श्री फाइनान्स
- नारायणी डेभलपमेन्ट बैंक (समस्याग्रस्त)
- क्रिष्टल फाइनान्स (समस्याग्रस्त)
- कुवेर मर्चेन्ट फाइनान्स (समस्याग्रस्त)
- बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स (समस्याग्रस्त)
- पशुपति डेभलपमेन्ट बैंक
- कर्पोरेट डेभलपमेन्ट बैंक (समस्याग्रस्त)
- सगरमाथा मर्चेन्ट फाइनान्स
- पब्लिक डेभलपमेन्ट बैंक
- ललितपुर फाइनान्स (समस्याग्रस्त)
- अरुण फाइनान्स (समस्याग्रस्त)
- प्रोग्रेसीभ फाइनान्स
- पाथिभरा विकास बैंक
- एनएमबी बैंक
- क्लिन इनर्जी डेभलपमेन्ट बैंक
- सृजना फाइनान्स
- प्रिमियर फाइनान्स
- इम्पेरीयल फाइनान्स
- पाटन फाइनान्स
- एनडीइपी डेभलपमेन्ट बैंक
- राइजीङ डेभलपमेन्ट बैंक
- ग्राण्ड बैंक
- त्रिवेणी विकास बैंक
- ब्राइट डेभलपमेन्ट बैंक
प्रतिक्रिया