काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आजदेखि सात वटा कम्पनीको पूर्ण रुपमा अभौतिक सेयरको मात्र कारोबार गर्ने भएको छ । आईतबारबाट शिखर ईन्स्योरेन्स, युनिलिभर, ग्लोबल आईएमई बैंक, महालक्ष्मी फाईनान्स, हिमालयन जनरल ईन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स र एभरेष्ट फाईनान्सको डिम्याट (अभौतिक) सेयर मात्र कारोबार हुनेछ ।
सीडीएससीले गत चैत्र २२ गतेदेखि परिक्षणका रुपमा आंशिक रुपमा डिम्याट सेयर कारोबार सुरु गरेका सात कम्पनीलाई आईतबारबाट पूर्ण रुपमा अभौतिक सेयर मात्र किनबेच हुने घोषणा गरेको हो । अब यी कम्पनीको डिम्याट भएका सेयर मात्र कारोबार हुन्छ । यो सेयर किनबेचका लागि लगानीकर्ताले डिपोजिटरी खाता खोलेर कागजी सेयरलाई अभौतिक बनाएको हुनुपर्नेछ ।
यसैगरी सीडीएससीले दोस्रोचरणमा बैसाख १५ देखि थप सातवटा कम्पनीहरुको पूर्ण रुपमा अभौतिक सेयर कारोबार हुने घोषणा गरेको छ । दोस्रो चरणमा अनिवार्य रुपमा पूर्ण अभोतिक शेयर कारोबार हुने कम्पनीहरुमा एस डेभलपमेन्ट बैंक, सनराईज बैंक, एभरेष्ट ईन्स्योरेन्स, बुटवल पावर, बिभोर बिकास बैंक, नबिल बैंक र युनाईटेड फाईनान्स छन् ।
भौतिक सेयर कारोबारका लागि सेयर किनबेच गर्दा किन्ने र बेच्ने दुबैको हितग्राही .(डिम्याट) खाता हुनुपर्ने अनिवार्य गरिएको छ । बेच्नेले भौतिक प्रमाण पत्रको सेयर बेच्न नपाउने भएकाले डिम्याट गराएर मात्र बेच्नुपर्नेछ । डिम्याट गरिएका सेयरहरु किनबेच हुदा बढीमा तीन दिनभित्र खरिदकर्ताको डिम्याट खातामा जम्मा हुनेछ ।
सीडीएसीको सफट्वेयर प्राविधिक समस्या आएपछि पूर्ण रुपमा डिम्याट सेयर कारोबार गर्ने कार्यतालिका बारम्बार प्रभावित हुदै आएको छ । अहिले सफ्टवेयर निर्माता कम्पनी सीएमसी ईण्डिया लिमिटेडका प्राविधिकहरु नै नेपाल आएर परिक्षण कारोबारलाई अबलोकन गरिरहेको छ ।
प्रतिक्रिया