काठमाडौं । अर्थमन्त्री डा.रामशरण महत र नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रमुख उपाध्यक्ष किइथ किमबीच अमेरिकाले उपलब्ध गराउने कम्प्याक्ट प्रोग्रामबारे छलफल भएको छ ।
गत डिसेम्बरमा अमेरिकाले नेपाललाई सहयोग गर्ने नयाँ ढोका खोलेर १० अर्ब देखि ६० अर्बं रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेको थियो । यही कार्यक्रमलाई कार्यान्वयन गर्नेबारे छलफल गर्न एमसीसीका प्रमुख उपाध्यक्ष किमसहितको एक टोलीले सोमबार अर्थमन्त्रालयमा छलफल गरेको हो ।
सो सहयोगलाई कार्यान्वयन गर्नका लागि संयोजन गर्ने जिम्मा पूर्व सचिव कृष्ण ज्ञवालीलाई दिएको छ । अर्थमन्त्री डा.महतले नेपाललाई अमेरिकाले उपलब्ध गराउने यस किसिमको सहयोगले विशेषगरी उर्जा प्रवद्र्धन र यातायात विकासका क्षेत्रमा ठूलो भूमिका हुने विश्वास गरे ।
हाम्रो प्राथमिकता अहिले उर्जा र यातायातको विकास हो, किनकि यी दुईको अभावमा अहिले उत्पादन लागत उल्लेख्य मात्रामा बढेको छ र उद्योगहरु अप्ठेरोमा परेका छन्, यसले गर्दा निर्यातमा समेत ठूलो ह्रास आएको छ अर्थमन्त्रीले उपाध्यक्ष किमसँग भने । अर्थमन्त्री डा.महतले आर्थिक बृद्धिदर ७ प्रतिशतभन्दा माथि बनाउनको लागि सरकार लागिपरेको जानकारी दिए ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेलले नेपाल सरकारले पनि उर्जा र यातायातलाई प्राथमिकतामा राखेको भन्दै अन्य मुलुकमा अमेरिकाले गरेको यस्तो लगानीको सफल मोडललाई नेपालमा पनि उतार्न सके राम्रो हुने विश्वास व्यक्त गरे।
त्यसैगरी आयोगका सदस्य डा.स्वर्णिम वाग्लेले नेपाललाई उपलब्ध गराइएको अमेरिकी सरकारको यो ठूलो सहयोग हो भन्दै यस सहयोगलाई ढिलो नगरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी प्रमुख उपाध्यक्ष किमले सहयोगलाई छिटो कार्यान्वयन गर्न अमेरिका पनि तयार भएको र आफू यसै सिलसिलामा नेपाल आएको बताए । यसको तयारी गर्नका लागि कार्यालय तथा अन्य आवश्यक पूर्व तयारीका लागि पनि बजेट छुट्याइएको जानकारी दिए ।
प्रतिक्रिया