वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको शाखा खुल्न थाले, सर्वसाधारणले सजिलै पैसा झिक्न पाउने

अर्थटुडे
२०७२ बैशाख १५, मंगलवार

काठमाडौं । शनिबार गएको भूकम्पका कारण प्रभावित भएको बैंकिङ क्षेत्रले आफ्ना सेवालाई सहज बनाउँदै लगेका छन् । निरन्तरको भूकम्पको पराकम्पनका कारण समस्या भए पनि अत्यावश्यक भुक्तानीका ठूलो सञ्जाल भएका ‘क’ वर्गका बैंकले आफ्ना सेवालाई खुला स्थानबाटै सञ्चालनमा ल्याएका हुन् । 

भौतिक संरचना ध्वस्त भएको स्थानबाट सेवा दिन नसकेपछि बैंकले वैकल्पिक उपाय अपनाएर भए पनि भुक्तानीलाई सहज बनाउँदै लगेका हुन् । नेपाल राष्ट्र बैंकले अत्यावश्यक भुक्तानी उपलब्ध गराउन निर्देशन दिएपछि बैंकिङ सेवा सञ्चालन गर्ने प्रयास गरिएको बताइएको छ । 
nepal rastra bank
ठूला सञ्जाल भएका सरकारी बैंक वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले सेवालाई सहज अवस्थामा जस्तै सेवा दिन नसके पनि आपत्कालीन अवस्थालाई ध्यानमा राखेर वैकल्पिक व्यवस्था गरेको जनाएको छ । 

भुक्तानी लिन आएका ग्राहकलाई नफर्काएको दाबी ती बैंकहरुले गरेका छन् । बैंकले इन्टरनेट सेवामा वैकल्पिक व्यवस्था इ–बैंकिङ तथा एटिएममार्फत पनि आज भुक्तानी दिई रहेका छन् । 

विशेष गरी भौतिक संरचना ध्वस्त भएका जिल्ला तथा कार्यालयबाट पूर्णरुपमा सेवा दिन नसके पनि आंशिक रुपमा सेवा उपलब्ध गराएको र भुक्तानीका लागि आउने ग्राहकलाई विकल्पको व्यवस्था गरेको उनीहरुले उल्लेख गरेका छन् । 

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले अति आवश्यक भुक्तानीलाई सहज बनाएको बताए । उनले कुनै शाखा तथा कार्यालयको भवन ध्वस्त भएकाले त्यस्ता शाखा तथा कार्यालयमा पुग्ने ग्राहकलाई अर्को वैकल्पिक व्यवस्था गरिएको जानकारी दिए ।

अति समस्यामा परेका जिल्लाका लागि पनि विकल्पका रुपमा व्यवस्था गर्न लागेको बताए । यस बैंकले केही शाखा तथा कार्यालयमा समस्या रहेको र कर्मचारीहरु गएर काम गर्न सक्ने अवस्था नै नरहेको उनले जानकारी दिए ।

त्यसैगरी कृषि विकास बैंकले पनि आफ्ना सेवालाई सहज बनाएको छ । उसले आफ्ना ग्राहकले मागेको अवस्थामा वैकल्पिक उपाय प्रयोग गरेर भए पनि भुक्तानी उपलब्ध गराएको जनाएको छ । बैंकको केही जिल्लामा सम्पर्क गर्न नसकिएको जनाएको छ । 

तैपनि कृषि विकास बैंकले आफ्ना ग्राहकहरु जुनसुकै शाखा तथा कार्यालयका ग्राहक भए पनि भुक्तानीलाई सहज बनाएको जनाएको छ । 

भौतिक संरचना ध्वस्त भएका शाखा तथा कार्यालयको विकल्प प्रयोग गरिएको बैंकका डिजिएम विजया स्वारले जानकारी दिए । उनले पुतलीसडक, कालिमाटी, जनकपुर कार्यालय, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायतका कार्यालयमा समस्या भएको जानकारी दिए ।

त्यसैगरी निजी क्षेत्रका बैंकले पनि आफ्ना ग्राहकलाई सहज रुपमा भुक्तानी उपलब्ध गराएको दाबी बैंकर्स एसोसिएसनको छ । बैंकर्स एसोसिएसनका उपाध्यक्ष अनिलकेशरी शाहले निजी क्षेत्रबाट सञ्चालन भएका सबै बैंकले आफ्ना सेवालाई सहज गरिएको बताए ।

बैंकको कार्यालय ध्वस्त भएको स्थानबाट सेवा दिन नसक्ने अवस्थामा नजिकमा जुन बैंक छ त्यही बैंकबाट सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी उनले दिए । उनले आजबाट कुनै पनि सर्वसाधारण बैंकबाट रित्तो हात फर्कन नपर्ने अवस्था सिर्जना भएको बताए । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाल बैंकर्स एसोसिएसनलाई आपत्कालीन अवस्थामा सर्वसाधारण केही पनि भुक्तानीबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न निर्देशन दिएको प्रवक्ता डा मीनबहादुर श्रेष्ठले बताए ।

उनले भने, “हिजोसम्म त्रासको वातावरण थियो, आजबाट सबै सेवाहरु सुचारु भएका छन्, निजी क्षेत्रबाट सञ्चालित सबै बैंकलाई आफ्ना सेवा सुचारु गर्न राष्ट्र बैंकले हिजै निर्देशन गरिसकेको छ ।” आजबाट बैंकबाट सहजै भुक्तानी लिन सकिन्छ । 

भूकम्पकै कारण राष्ट्र बैंकको कुनै पनि ढुकुटी असुरक्षित नभएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्र बैंकको थापाथलीस्थित भवन र सुन्धारास्थित भवनमा क्षति पुगेकाले त्यस कार्यालयबाट उपलब्ध हुने सबै सेवालाई बालुवाटारको नयाँ भवनबाट उपलब्ध गराएको जानकारी दिए ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयको गभर्नर कार्यालय रहेको पुरानो भवनसमेत क्षति भएकाले नयाँ भवनबाट मात्र सेवा सुचारु गर्नुपर्ने अवस्था रहेको छ । भौतिक संरचना विग्रिएपनि बैंकिङ तथा अन्य सेवामा कुनै पनि कमी नहुने प्रवक्ता श्रेष्ठको दाबी छ । उनले भने, “सबैले भुक्तानी पाउने अवस्थाको सुनिश्चित गर्न र गराउन नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ ।” रासस 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ