वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजधानीका अधिकांश अपार्टमेन्ट बस्न योग्य छैन : सरकार

अर्थटुडे
२०७२ बैशाख २३, बुधबार

काठमाडौं । वैशाख १२ मा गएको महाभूकम्पपछि राजधानीका अधिकांश अपार्टमेन्टमा क्षति पुगेको छ । भूकम्पले अपार्टमेन्टका संरचना हाललाई ‘बस्न अयोग्य’ बनाएको हो । व्यवस्थित सहरीकरणका नमुना मानिएका अपार्टमेन्टको बाहिरी र भित्री संरचना नै क्षतविक्षत बनाइदिएको अनुगमनका क्रममा भेटिएको छ । 

सहरी विकास मन्त्रालय तथा भवन निर्माण विभागले गरेको अनुगमनका क्रममा अधिकांश अपार्टमेन्टहरू हाललाई ‘बस्न नहुने’ भनी वर्गीकरण गरिएको छ । विभागले मंगलबारसम्म १६ अपार्टमेन्टको अनुगमन गर्दा ११ वटालाई ‘तत्काल बस्न नहुने’ सूचीमा राखेको छ । तर, विभागले यी अपार्टमेन्टको नाम भने गोप्य राखेको छ । यी अपार्टमेन्टमा बस्नेहरू भने यसअघि नै स्थानान्तरण भइसकेका छन् ।appartment

अनुगमनका क्रममा सामान्य क्षति पुगेका ४ अपार्टमेन्टलाई भने बस्न सकिने सूचीमा राखिएको छ । विभागले भूकम्पपछि राजधानीका अपार्टमेन्टमा ‘तत्काल बस्न मिल्छ कि मिल्दैन’ भनेर अनुगमन गरिरहेको वरिष्ठ डिभिजनल इन्जिनियर सागर जोशीले जानकारी दिए । “एउटा छिर्नै नमिल्ने गरी भत्किएको छ भने वाल प्यानल नै क्र्याक भएका ११ वटामा भने मर्मत गरेर छिर्न मिल्छ,” उनले भने ।

विभागले तत्काल बस्न मिल्ने अपार्टमेन्टका लागि ग्रिन, बस्नै नमिल्ने गरी क्षति भएको भवनलाई रेड र मर्मत गरेपछि बस्न मिल्ने भवनलाई पहेँलो स्टिकर टाँसेको पनि जोशीले जानकारी दिए । बरुण बेभरेजले निर्माण गरेको धापासीस्थित पार्क होराइजनमा रातो स्टिकर टाँसिएको छ ।

पार्क होराइजनमा रातो स्टिकर टाँसेपछि रियल इस्टेट व्यवसायीहरू मंगलबारै विभागमा डेलिगेसन गएका थिए । नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष इच्छाबहादुर वाग्लेले विभागले हतारमा रातो स्टिकरण टाँसेर सर्वसाधारणमा त्रास उत्पन्न गराएको आरोप लगाए । “कुनै पनि अपार्टमेन्ट लडेका छैनन्, जनधनको क्षति भएको छैन भने कसरी बस्न अयोग्य भन्न सकिन्छ ?” उनले प्रश्न गरे, “सरकारलाई पूर्वाग्रही नहुन आग्रह गरेका छौं ।” विभागले एकलौटी ढंगले अनुगमन गरेको भन्दै उनले आफ्ना पनि प्रतिनिधि राख्नुपर्ने बताए ।

सरकारले अहिलेको अवस्थामा यस्ता भवनमा कुनै क्षति नभए पनि १० तलाभन्दा माथि नबस्न सुझाव दिइसकेको छ ।

विभागले पहिलो चरणमा निर्माण सम्पन्न भइसकेका अपार्टमेन्टको अनुगमन गर्नेछ । उपत्यकामा हालसम्म ७० वटा अपार्टमेन्टले निर्माण स्वीकृति लिएका छन् । यीमध्ये १८ वटाले बनिसकेका छन् ।


इन्द्रेणी, पार्क भ्यु होराइजन, प्रेस्टिज, इन्द्रेणी दोस्रो, स्टाटस इन्क्ल्याभ, कलश, अम्बे रेसिडेन्सी, टीसीएच टावर, टीसीएच टावर ४, मेट्रो, मर्करी, रियो, कमलपोखरी, रिट्रिट, ग्य्रान्डी, सेन्ट्रल पार्क, इम्पेरियल कोर्ट र ग्य्रान्डी २ निर्माण भइसकेका अपार्टमेन्ट रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ