वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार जेठ ३ देखि खुल्ने, डिम्याट कार्यतालिका पनि पछि सर्‍यो

अर्थटुडे
२०७२ बैशाख २७, आईतवार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार भएको सरोकारावालाको बैठकमा आगामी जेठ ३ गतेदेखि सेयर कारोबार खुला गर्ने अनौपचारिक सहमति भएको छ। वैशाख १२ को भूकम्पपछि सेयर कारोबार बन्द छ ।
बैठकमा नेपाल इन्भेस्टर्स फोरम, ब्रोकरलगायतले जेठ दोस्रो सातापछि मात्र कारोबार खुला गर्नुपर्ने अडान राखेका थिए। तर, मर्चेन्ट बैंकरहरूले भने जतिसक्दो छिटो बजार खुलाउनुपर्ने लबिङ गरे।
अहिलेको योजनाअनुसार काम भएमा जेठ ३ देखि बजार खुला गरिने, पहिलो साता एक घन्टामात्र कारोबार गर्ने, दोस्रो साता दुई घन्टा र जेठ तेस्रो सातापछि मात्र पूरा समय कारोबार गर्ने अनौपचारिक सहमति भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
 nepal stock exchange
हाल प्रत्येक कम्पनीमा १० प्रतिशत मूल्य उतारचढाव भएपछि मात्र सर्किट ब्रेकर (कारोबार रोक्ने) गरिएकामा बजार खुलेपछि केही समयसम्म प्रत्येक कम्पनीमा पाँच प्रतिशत मूल्य घटबढ हुनेबित्तिकै सर्किट ब्रेकर लगाउने सहमति भएको छ।
यसमा नेप्सेले सिस्टमले सपोर्ट गर्ने वा नगर्ने भन्नेमा अध्ययन गर्नुपर्ने जानकारी सरोकारवालालाई गराएको छ। स्रोतका अनुसार नेप्सेको प्रणालीले सर्किट ब्रेकरको प्रतिशत परिवर्तन गर्नमा बाधा पुर्‍याउने छैन।
बैठकमा सहभागी एक अधिकारीका अनुसार नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले अर्थ मन्त्रालय तथा घितोपत्र बोर्डसँग सल्लाह गरेर अघि बढ्ने जानकारी गराएका थिए।
ती अधिकारीका अनुसार नेप्सेले आगामी आइतबार वा सोमबार बजार खुला गर्ने मितिसहित सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ।
बजार तत्काल खुला गर्ने र नगर्ने दुई मत देखिएपछि मध्यमार्गी बाटो अपाउन लागिएको हो। लगानीकर्ता पनि दुई पक्षमा विभाजित छन्। एउटा पक्ष जतिसक्दो छिटो बजार खुला गर्नुपर्ने पक्षमा छ भने लगानीकर्ताको अर्को समूह तत्काल बजार खुलाउन नहुने पक्षमा छ।
नेप्से उच्चतम विन्दुमा पुगेका बेला बिक्री गरेकाहरू बजार तत्काल खुला गर्नुपर्ने लबिङ गरिरहेका छन् भने होल्ड गरेर बसेका लगानीकर्ताले अहिले कुनै पनि हालतमा बजार खोल्न नहुने भनेर नेप्से र धितोपत्र बोर्डलाई दबाब दिँदै आएका छन्।
सेयर होल्ड गरेकालाई तत्काल बजार खोल्दा धेरै घट्न सक्ने डर छ भने बिक्री गरिसकेकालाई छिटो बजार खुलाउन सके धेरै घट्ने र सोही मौकामा किन्न पाइने विश्वास छ।
बैठकमा सहभागी नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सेनाले सरोकारवालाका भनाइ समेटेर धितोपत्र बोर्ड र अर्थ मन्त्रालयमा प्रस्ताव लैजाने जानकारी नेप्सेले गराएको बताए।
भूकम्पका कारण कतिपय लगानीकर्ताको धनजनको क्षति भएको, सातवटा ब्रोकरको कार्यालयमा क्षति पुगेका कारण बजार खुला गर्ने समय अझै पर सार्नुपर्ने इन्भेस्टर्स फोरमको अडान छ।
कुल ५० वटा ब्रोकर सञ्चालनमा छन्। कतिपय ठूला लगानीकर्ता र ब्रोकर राहत वितरणका लागि यति बेला भूकम्प प्रभावित क्षेत्रमा छन्।
डिम्याट कार्यतालिका पछि सर्‍यो
भूकम्पका कारण नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार अभौतिक (डिम्याट) प्रणालीबाट गर्न यसअघि तय गरेको कार्यतालिकासमेत पछि सर्ने भएको छ।
आगामी असार (चालू आवभित्र) सम्ममा पुँजी बजारमा सूचीकृत सबै कम्पनी र कारोबार डिम्याट प्रणालीमा गर्ने योजना बनाएकामा सेयर बजार बन्द भएकाले कार्यतालिका सर्ने निश्चित भएको स्टक एक्सचेन्जले जानकारी दिएको छ।
पूर्वनिर्धारित योजनामा एक महिनादेखि दुई महिनासम्म पछि सर्न सक्ने देखिएको छ। स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले सेयर कारोबार बन्द भएको तथा सीडीएस कम्पनीको भवनमा समेत क्षति भएकाले चालू आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने गरी अघि सारिएको डिम्याट कार्यतालिका केही पछि सर्ने जानकारी दिए।
सेयर डिम्याट गर्दा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न नेपाल आएका सीएमसी लिमिटेडका प्राविधिक पनि भारत फर्किसकेका छन्। यसअघि उनीहरूले तीन महिनासम्म नेपालमा बसेर अनुगमन गर्ने योजना बनाइएको थियो।
कारोबार बन्द भएकाले उनीहरू आफ्नो देश फर्किएका हुन्। डिम्याट प्रक्रिया सुरु भएपछि सीएमसीका प्राविधिक फेरि नेपाल आउने स्टकका महाप्रबन्धक थपलियाले बताए।
सीएमसीका प्राविधिकले तीन महिनासम्म नि:शुल्क अनसाइट वारेन्टी दिने र त्यसपछि अफसाइट सपोर्ट उपलब्ध गराउने सहमति भएको छ। हालसम्म २१ वटा सूचीकृत कम्पनीको सेयर कारोबार डिम्याट प्रणालीमा लगिएको छ। नेप्सेले सातवटा कम्पनीका दरले तीनपटकमा २१ कम्पनीको कारोबार डिम्याटमा लगेको हो।
सीडीएस एन्ड क्लियरिङ कम्पनी लिमिटेडका अनुसार हालसम्म दुई करोड ३१ लाख ७१ हजार ६ सय पाँच कित्ता सेयर डिम्याट भएको छ। कुल ३२ हजार ४० जना लगानीकर्ताले डिम्याट खाता खोलिसकेका छन्।
डिम्याटका लागि ९७ कम्पनी दर्ता भइसकेको सीडीएस एन्ड क्लिरिङ कम्पनीले जानकारी दिएको छ। करिब चार अर्ब कित्ता सेयर डिम्याट गर्नुपर्ने अनुमान छ।
सीडीएससी भवनको प्राविधिक परीक्षण सुरु
भूकम्पका कारण क्षतिग्रस्त भएको थापालथलीस्थित केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) भवनको विदेशी इन्जिनियरले प्राविधिक जाँच गर्न थालेका छन्। प्रारम्भिक अध्ययनपछि इन्जिनियरहरूले सीडीएसको काम सोही भवनबाट गर्न सकिने जानकारी दिएका छन्।  अन्तिम रिपोर्ट आउन भने बाँकी छ।
दुईतीन दिनभित्रै अन्तिम रिपोर्ट आउने स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। प्राविधिकबाट लिखित रिपोर्ट माग्ने र सोही आधारमा निर्णय गर्ने तयारी स्टक एक्सचेन्जको छ। हाल पुँजीबजारको कारोबार अवरुद्ध छ।
नेप्सेले बजार चल्न नसक्नुमा सीडीएससीको भवनमा क्षति पुग्नुलाई मुख्य कारण भनेको छ। दैनिक सेयर कारोबारको राफसाफ सीडीएस कम्पनीले गर्ने भएकाले भवनको प्राविधिक परीक्षण नगरेसम्म बजार सञ्चालन गर्न नसक्ने नेप्सेका अधिकारीले जानकारी दिएका छन्। सीडीएस कम्पनी रहेको भवनमा क्षति पुगेको भए पनि नेटवर्किङ तथा सिस्टममा भने क्षति पुगेको छैन।
नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले सीडीएस कम्पनी रहेको भवनको विदेशी इन्जिनियरबाट प्राविधिक परीक्षण सुरु भएको जानकारी दिए।
‘प्रारम्भिक रिपोर्ट काम गर्न सकिने भन्ने छ तर अन्तिम रिपोर्ट आउन बाँकी नै भएकाले अहिल्यै निश्चित गर्न सकिंदैन’, उनले भने। सोही भवनबाट काम गर्न सकिने रिपोर्ट इन्जिनियरले दिएमा नेप्सेलाई सेयर बजार छिटो खुलाउन सजिलो हुनेछ ।
अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ