चितवन । भूकम्पका कारण यहाँको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित बनेको छ । बेमौसम सुरु हुनुअघिको निकै राम्रो समय मानिने यतिबेला पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर र मेघौली सुनसान बनेको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेका अनुसार गत वर्षमा ७० प्रतिशत बुकिङ हुने गरेकामा अहिले पाँच प्रतिशतमात्रै पर्यटक रहेका छन् । जसमध्ये दुई प्रतिशत आन्तरिक रहेको उहाँको भनाइ छ ।
सबै बुकिङ रद्द भएको बताउँदै उहाँले पर्यटन व्यवसायी अब के गर्ने भन्ने विषयमा अन्योलमा परेको बताउनुभयो ।
पछिल्लो समय पर्यटकको आकर्षण बढेसँगै ठूलो लगानीमा चितवनमा पर्यटकीय होटल खोल्ने क्रम तीव्र गतिमा अघि बढेको थियो ।
जिल्लामा १३० वटा पर्यटकीय होटलमा पाँच अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले सुरुमा पर्यटक बढेसँगै बैंकसँग ठूलो ऋण लिएर होटल बिस्तार र नयाँ होटल खोलिएको भए पनि एकाएक विपत्ति आइलागेपछि आफूहरू अन्योलमा परेको बताउनुभयो ।
सेप्टेम्बरसम्मका सबै बुकिङ रद्द भएको बताउँदै त्यसपछि के हुने हो भन्न नसकिएको विष्टको भनाइ छ ।
पर्यटक जाने ठाउँ नै भूकम्पले प्रभावित छ । सरकारले कस्तो सन्देश दिन सक्छ त्यसैमा भरपर्छ, विष्टले भन्नुभयो । चितवनमा आउने कुल पर्यटकको ७० प्रतिशत चिनियाँ रहने गर्दछन् । भूकम्पबाट सबैभन्दा बढी चिनियाँ डराउँछन् । उनीहरूलाई कसरी ढुक्क पार्न सकिन्छ त्यसले पर्यटन क्षेत्र निर्भर गर्छ, विष्टको थप भनाइ छ ।
कसरा रिसोर्ट जगतपुरका जनसम्पर्क अधिकृत सागर पौडेल ५० प्रतिशत बुकिङ भएको होटलको सबै बुकिङ रद्द भएको बताउनुहुन्छ । आफ्नोमात्रै नभएर यस क्षेत्रका आठवटा होटल सुनसान रहेको पौडेलले बताउनुभयो ।
त्यस्तै मेघौलीमा गत वर्षबाट नै सञ्चालनमा आएको होटल बाराहीमा पनि ६० प्रतिशत बुकिङ भएकामा भूकम्पसँगै पर्यटक नआएपछि सबै बुकिङ रद्द भएको होटलका प्रबन्ध निर्देशक विप्लब पौडेलले बताउनुभयो ।
सबै राजदूतावासले नेपालमा रहेकालाई फिर्ता बोलाएको बताउँदै उहाँले परिस्थिति सामान्य बनेसँगै सरकार, सञ्चारमाध्यम र विदेशमा रहेका नेपालीले सहयोग पु¥याएमा व्यवसाय पहिलेको अवस्थामा आउने बताउनुभयो ।
चितवन, पोखरालगायतका क्षेत्र पूर्णरूपमा सुरक्षित रहेकाले राजधानी र बाहिर रहेका नेपाली यतिबेला भ्रमणका लागि निस्किएमा उनीहरूलाई तनाव घट्ने र व्यवसाय पनि चल्ने पौडेलको भनाइ छ ।
पर्यटक घटेपछि होटलसँगै यसबाट आश्रित विभिन्न व्यवसाय पनि प्रभावित भएको छ । रासस
प्रतिक्रिया