काठमाडौं । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आगामी एक महिनाभित्र भूकम्पपीडितलाई राहत सामग्री वितरण र अस्थायी टहरा निर्माणको काम सम्पन्न गर्न सरकारलाई निर्र्देशन दिएको छ ।
समितिको आजको बैठकले वर्षायाम प्रारम्भ हुन लागेकाले प्रभावितलाई त्रिपालमै राख्दा थप समस्या, हुने खेतीपाती गर्नुपर्ने समयमा राहत सामग्रीको खोजीमा लाग्न कठिनाइ हुने भएकाले त्यस अगावै राहतका कार्यक्रम पूरा गर्न र अस्थायी बसोवासको व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले अवरुद्ध भएका मोटरबाटो, गोरेटोबाटो, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन, भत्केका विद्यालयका ठाउँमा वैकल्पिक व्यवस्था गरी पठनपाठन गराउन पनि निर्देशन दिइएको छ ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठले राहत सामग्री वितरण न्यायोचित हुनुपर्नेमा जोड दिँदै त्यसम्बन्धमा सरकारले गरेका कामको अनुगमन गर्न सात वटा कार्यदल पनि गठन गरेको बताउनुभयो ।
नव गठित कार्यदलको ‘क’ समूहमा काठमाडौँ उपत्यकाका तीन जिल्ला, ‘ख’ मा काभ्रे–सिन्धुपाल्चोक, ‘ग’ मा दोलखा–रामेछाप, ‘घ’ मा धादिङ–गोरखा, ‘ङ’ मा सिन्धुली–ओखलढुङ्गा, ‘च’ मा रसुवा–नुवाकोट र ‘छ’ मा मकवानपुर र अन्य बाँकी जिल्ला छन् ।
सरकारले खोज, उद्धार र राहत वितरणमा काम गरिरहेको भए पनि व्यवस्थित नभएको गुनासो समितिका सदस्यले गर्नुभएको थियो । रासस
प्रतिक्रिया