काठमाडौं । राष्ट्रिय सहकारी संघले भुकम्प पीडितहरुको उद्वार तथा राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्वार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । यसअघि नै सहयोगको घोषणा गरेको संघले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी चेक हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष केशव प्रसाद बडालले प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरे । सहयोगको चेक ह बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितका लागि आएको सहयोग दुरुपयोग नहुनेमा प्रतिवद्वता व्यक्त गरे । राहतका नाममा आएको खाद्य तथा अन्य सामाग्री दुरुपयोग बढेको भन्दै त्यसतर्फ आफू सजग बताउदै उनले भने, “कोषमा संकलित रकम वास्तविक पीडितले पाउनेछन्, कुनै पनि दुरुपयोग हुन दिन्न” ।
संघका अध्यक्ष बडालले भुकम्प पीडितका लागि गरिने सहयोग सरकारमार्फत नै गरे प्रभावकारी हुने बताए ।
यसअघि संघले भारतको इफ्को सहकारीमार्फत आएको राहत सामाग्री भुकम्प प्रभावित जिल्लामा वितरण गरिरहेको छ । अहिलेसम्म तीन जिल्लामा पाल, खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिसकिएको र छिट्टै अन्य प्रभावित जिल्लामा पनि वितरण गरिने संघले जनाएको छ ।
प्रतिक्रिया