काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाका अध्यक्ष अकिहिको तानाकाबिच मंगलबार भेटवार्ता भएको छ । उक्त अवसरमा अवसरमा नेपालमा हालै गएको भूकम्प, यसले पु¥याएको क्षति र पुनर्निर्माणका बारेमा विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
भेटघाटमा अर्थमन्त्री डा महतले नेपालको भूकम्पको क्षतिप्रति सहानुभूति राखी सदासयताका साथ सहयोग गरिरहेकोमा जापान सरकारलाई धन्यवाद दिए । हालै अजरवैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको बैठकका अवसरमा जापानका उपप्रधानमन्त्री तथा अर्थमन्त्री तारो आसोसँग भएको भेट र उहाँले नेपाललाई सहयोग गर्न सहायता सम्मेलनको संयोजन गरिदिने आश्वासन दिएको अर्थमन्त्री डा महतले स्मरण गरे ।
महतले आगामी जुन २५ मा नेपाल सहायता सम्मेलन आयोजना गरिने र सो सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिता चाहेको स्पष्ट पारे । सहायता सम्मेलनमा दाता मुलुक तथा संस्थाहरुबाट सहयोगको मोटामोटी घोषणा भएमा पुनर्निर्माणलाई सहयोग पुग्नेछ ।
उनले भूकम्पले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पु¥याएपनि सरकार तिनलाई छिटै पुनर्निर्माण गर्ने र अझ राम्रो तथा व्यवस्थित पुनर्निर्माण गर्ने स्पष्ट पारे । क्षति ठूलो भएको जानकारी दिदै उहाँले जीडीपी नै घट्ने बताउनुभयो र पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेकोमा जोड दिए ।
भेटघाटमा डा महतले ऋणभन्दा अनुदान र सामानभन्दा नगदमा सहायता खोजेको पनि स्पष्ट पारे ।
सो अवसरमा जाइकाका अध्यक्ष तानाकाले पुनर्निर्माणका लागि ठूलो सहायता जुटाउनुपर्ने भएकोले सहायता सम्मेलन नै गर्नु स्वागतयोग्य भएको उल्लेख गरे । जापान नेपालसँग लामो मित्रवत सम्वन्ध राख्न चाहन्छ भन्दै उहाँले शिक्षा, स्वाथ्य लगायतका पूर्वाधार निर्माणमा जापान सहयोग गर्न र काम गर्न इच्छुक रहेको स्पष्ट पारे ।
प्रतिक्रिया