काठमाडौं । बैशाख १२ गतेको भूकम्पको एक महिनापछि खुलेको सेयर बजारमा पाँचौ दिन सुधार आएको छ । चार दिनसम्म लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साताको अन्तिम दिन भने बढेको छ । विहिबार बजारमा बाणिज्य बैंकको सेयर कारोबारमा उल्लेख्य सुधार आएपछि समग्र बजार सकारात्मक देखिएको हो ।
विहिबार कारोबार सुरु भएपछि सुरुमा बजार ओरालो लागेको थियो । तर, अघिल्ला दिनहरुमा बढी मूल्य घटेर औसत मूल्य भन्दा तल झरेका सेयरहरुमा लगानीकर्ताको खरिद चाप बढेपछि नेप्से बढ्न थालेको हो । बीचबाट बढ्दै गएर नेप्सेमा ८ अंकसम्मको बढोत्तरी भए पनि अन्तिममा नेप्से चार अंकले माथि चढेर ८४१.४६ मा बन्द भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै चार करोडले बढी भई १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यसैगरी विहिबार जलविद्युत र अन्य समूह सूचमा समेत सकारात्मक प्रभाव परेको छ । मूल्य घटेपछि बजारमा सेयर किन्नेको चाप बढेकाले अब बजार सकारात्मक हुने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया