काठमाडौं । माथिल्लो तामाकोसी आयोजनाको सेयर बाँडफाँटमा समस्या देखिएको छ। कानुनी रुपमा ६० दिनभित्र सेयर बाँडफाँट गरिसक्नुपर्नेमा नेपाल धितोपत्र बोर्डले अनुमति नदिँदा ढिलो भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले बताएको छ।
उक्त सेयर बाँडफाँट जेठ १४ गतेभित्र गरिसक्नु पर्थो। तोकिएको समय सकिएको १० दिनभन्दा बढी भइसके पनि लगानी कोष कुनै निर्णयमा पुग्न सकेको छैन।
कोषले बाँडफाँट गर्न आश्वासन दिएको समय जेठ १४ गते सकिए हो। सेयर बाँडफाँट नहुँदा लगानीकर्ताले कहिले पैसा फिर्ता पाउने भन्ने अन्योल छ। धितोपत्र बोर्डको बैठक यसै साता बसेर सेयर बाँडफाँटबारे निर्णय गर्ने भनिएको छ।
कोषले बाँडफाँट गर्न आश्वासन दिएको समय जेठ १४ गते सकिए हो। सेयर बाँडफाँट नहुँदा लगानीकर्ताले कहिले पैसा फिर्ता पाउने भन्ने अन्योल छ। धितोपत्र बोर्डको बैठक यसै साता बसेर सेयर बाँडफाँटबारे निर्णय गर्ने भनिएको छ।
धितोपत्र बोर्ड भने कानुनी समस्या देखिएकोले बोर्ड बैठकले निर्णय गरेरमात्र बाँडफाँट अनुमति दिने बताउँछ। बोर्डका निर्देशक निरज गिरी भन्छन्, ‘बोर्डले कानुनी पक्षको अध्ययन गरिरहेको छ। बोर्डले निर्णय गरेपछि बाँडफाँट अनुमति दिइनेछ।’
आयोजनाले स्थानीयबासी र ऋण दिने संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका बचतकर्ता र नेपाल विद्युत प्राधिकरण तथा आयोजनाका कर्मचारीलाई एकैपटक सेयर निष्कासनका लागि अनुमति दिएको थियो। ऋण दिने संस्थालाई सेयर वितरण गरे पनि स्थानीयलाई वितरण नगरेकाले कानुनी समस्या आएको गिरीले जानकारी दिए। ‘कानुनी रुपमा एकैपटक विवरणपत्र निकालेपछि स्थानीयलाई पनि सेयर वितरण गर्नुपर्ने थियो,’ गिरीले भने, ‘तर, एकैपटक सेयर निष्कासन नभएकाले कानुनी समस्या आएको हो।’ विशेष परिस्थितिमा समस्या समाधान गर्ने बाटो खोज्न बोर्ड बैठकमा एजेन्डा लाने निर्णय भएको उनले बताए। ‘सम्भवतः यसै हप्ता बोर्ड बैठक बसेर समस्या समाधान गर्ने पक्षमा छौ,’ गिरीले भने। नजीरका रुपमा बस्ने भएकाले सावधानी अपनाउनु परेको बोर्डले बताएको छ।
बोर्डले स्पष्ट निर्देशन दिन नसकेकाले सेयर बाँडफाँट हुन नसकेको कोषले बताएको छ। ‘बोर्डले निर्देशन दिनासाथ हामी बाँडफाँट गर्नेछौं,’ कोषका मुख्य व्यवस्थापक तथा प्रवक्ता सुशीलकुमार अर्यालले भने, ‘हामी तयारी अवस्थामा छौं।’ बैठक बसेर निर्णय लिनेबारे बोर्डले कोषलाई जानकारी गराएको छ।
ऋण दिने संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका बचतकर्ता र नेपाल विद्युत प्राधिकरण तथा आयोजनाका कर्मचारीलाई सेयर निष्कासन गरिएको हो। आयोजना प्रभावित स्थानीयलाई गरिएको निष्कासन भने स्थगित गरिएको थियो। एउटै आह्वान पत्रमार्फत सेयर दिन खोजिएको तर स्थानीयका लागि भने स्थगित भएकोले यसमा थप कानुनी जटिलता आउन नदिन कानुनी राय लिएको गिरीले बताए।
तामाकोसीको सेयरका लागि ऋण लगानीकर्ता संस्था र प्राधिकरणका कर्मचारी र सञ्चय कोषका बचतकर्ताले १८ अर्ब ३० करोड ९७ लाख रुपैयाँबराबरको आवेदन दिएका छन्। यो आयोजनाको दुई अर्ब ५५ करोड रुपैयाँको दुई करोड ५५ लाख कित्ता सेयर निष्कासन गरिएको हो। दुई लाख १० हजार लगानीकर्ताले आवेदन दिएका छन्। चैत १५ गते आवेदन लिने काम बन्द गरिएको थियो।
आयोजनाले दोलखालीका लागि १ करोड ५ लाख रुपैयाँको सेयर छुट्ट्याएको छ। एउटै विवरण पत्र प्रकाशित गरे पनि आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरिएको छैन। विवाद आएपछि स्थानीयबासीका लागि सेयर निष्कासन स्थगित गरिएको थियो। स्थानीयबासीलाई सेयर वितरण गरिसकेपछि सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रुपैयाँको सेयर निष्कासन हुने आजको नागरिकमा समाचार छ ।
प्रतिक्रिया