काठमाडौं । बैंकमा बचत राख्ने योजनामा हुनुहुन्छ भने आधा दर्जन बैंकले नयाँ बचत खाता संचालनमा ल्याएका छन् । लामो समयदेखि घद्दो क्रममा रहेको व्याजदर बढाएर बैंकहरुले सर्वसाधारणको बचत आकर्षित गर्न विभिन्न योजना ल्याएका छन् । पछिल्लो दुई सातामा लुम्बिनी, सेन्चुरी कमर्सियल, सिटिजन्स, प्रभु र लुम्बिनी बैंकले साधारण तथा मुद्दती बचत योजना ल्याएका छन् । जसको व्याजदर ८ प्रतिशतसम्म रहेको छ ।
बचत योजना सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा बढी व्याजदर सिटिजन्स बैंकले तोकेको छ । २ वर्ष अवधिको ‘व्यक्तिगत मुद्दती खाता’मा ८ प्रतिशत ब्याजदर तोकिएको छ । न्यूनतम ब्यालेन्स ५ लाख रुपैयाँ रहने यो योजनामा बैंकले त्रैमासिक ब्याज भुक्तानी दिने बताएको छ ।
यस्तै लुम्बिनीले सय दिने र १ वर्ष वा त्यसभन्दा माथि अवधिको मुद्दती निक्षेप योजना सुरु गरेको छ । २ लाख रुपैयाँमा खाता खोल्न सकिने यो योजनामा ७ प्रतिशत र १ वर्षभन्दा माथिको योजनामा ७.५ प्रतिशत ब्याजदर तोकिएको छ । १ वर्षभन्दा माथिको योजनामा सहभागी हुन भने न्यूनतम ५ लाख रुपैयाँ राख्नुपर्ने बैंकले जनाएको छ ।
सेन्चुरीले पनि २ वटा नयाँ मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । तीमध्ये बैंकले सय दिने मुद्दती खातामा ७ प्रतिशत र १ वर्षेमा ७.५ प्रतिशत ब्याज तोकेको छ । यी खातामा क्रमशः ५ लाख र १० हजार रुपैयाँ न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रभु बैंकले २ वटा नयाँ मुद्दती निक्षेप योजना ल्याएको छ । ‘उन्नतशील मुद्दती’ र ‘आदर्श मुद्दती’ योजनामा वार्षिक ७.५५ प्रतिशत ब्याज तोकिएको छ । बचत आकर्षित गर्न बैंकले ब्याजदरबाहेक एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ, लकरलगायत सेवामा छुट र उपहारसमेत राखेको छ ।
यस्तै लुम्बिनी बैंकले पनि साधारण बचत योजना ल्याएको छ । एक दिने शिशुदेखि १६ वर्षसम्मकालाई लक्षित गरिएको ‘लुम्बिनी उज्जव तारा बचत योजना’मा वार्षिक ४.५ प्रतिशत व्याजदर तोकेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठ समग्रमा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भए पनि केही बैंकसँग कम भएकाले निक्षेप तान्न नयाँ योजना ल्याएको हुन सक्ने बताए । बैंकिङ क्षेत्रमा ६० अर्ब रुपैयाँभन्दा बढी तरलता भएपनि सबैसँग समान नभएको उनले बताए । बजारमा तरलता पर्याप्त हुँदा सरकारी ऋणपत्रको ब्याजदरसमेत घटिरहेको छ ।
लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त भने तरलताको अभाव नभएको र सर्वसाधारणलाई आकर्षक प्रतिफल दिन मुद्दती निक्षेप योजना ल्याइएको दावी गर्छन् ।
प्रतिक्रिया