काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) का केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले एक व्यक्ति एक पेशाको नीति केही समय पर सार्न माग गरेका छन् । लेखापरीक्षण गर्नुपर्ने निकायहरुको संख्याको तुलनामा लेखापरीक्षक जनशक्ति पर्याप्त नभएकोले तत्काल एक व्यक्ति एक पेशा नीति लागु हुन नसक्ने उनको दावी थियो ।
लेखापरिक्षकहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले आगामी आर्थिक वर्षदेखि चरणवद्व रुपमा दर्तावाल लेखापरिक्षकलाई चरणवद्व रुपमा एक व्यक्ति एक पेशाको नीति लागू गर्ने घोषणा गरेको छ । यो नियम लागू भएपछि पूर्णकालिन कर्मचारीले लेखापरिक्षण गर्न पाउदैनन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) लाई भने यो नियम दुई वर्षअघि नै लागू भइसकेको छ ।
शनिबार जनकपुरमा लेखापरीक्षकहरुको क्षमता अभिवृद्धिसम्वन्धी क्षेत्रीय स्तरको दुई दिने तालीमममा बोल्दै उापाध्यक्ष पौडेलले स्थानीय तहमा योग्य लेखापरिक्षक जनशक्ति उपलब्ध नभएकाले समयसिमा २०८० सालसम्म सार्न माग गरिएको बताए ।
कार्यक्रममा बोल्दै अडानका उपमहासचिव एवम् आइक्यानका पार्षद बद्रि भट्टराईले लेखापरीक्षण पेशा फराकिलो र चुनौतिपूर्ण हुदै गएकोले यसप्रति गम्भिर भएर जिम्मेवारी बहन गर्न आग्रह गरे । व्यवस्थापन र अरुको दोष पनि लेखापरीक्षकहरुमाथि थोपर्ने प्रवृति बढिरहेको बताउदै उनले पेशागत आचरण, आचारसंहिता र मानहरुलाई पालना गरेर लेखापरीक्षण अभ्यास गर्न जोड दिए ।
कार्यक्रममा अडानका केन्द्रीय सदस्य उग्रकान्त झा, डिभिजन सहकारी कार्यालय धनुषाका प्रमुख रविन्द्र यादव, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष ध्रुवनारायण यादव, अडान सर्लाही अध्यक्ष रामलक्ष्ण राय, महोत्तरीका अध्यक्ष सुरेश लाल, उदयपुरका अध्यक्ष रत्नप्रसाद निरौला, सिराहाका उपाध्यक्ष लालबहादुर यादवलगायतले आफ्नो धारणा राखेका थिए ।
तालीममा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिराहा र उदयपुरलगायत जिल्लाका ६० जनाको सहभागिता रहेको थियो । रजिष्टर्ड अडिटरहरुको क्षमताअभिवृद्धिका लागि आइक्यानले देशव्यापी रुपमा तालीम आयोजना गरिरहेको छ ।
प्रतिक्रिया