काठमाडौं । विश्व निकेतन उच्च माध्यमिक विद्यालयलाई दक्षिण कोरियाको सिनु.पि.डव्लु.एन प्राइभेट लिमिटडले भुकम्प प्रतिरोधि (प्रिफेटद्धारा निर्मित) भवन हस्तान्तरण गरेको छ ।
शनिवार विद्यालयको प्रांगाणमा भएको कार्यक्रममा उप–प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा सो कम्पनीले भवन हस्तान्तरण गरेको हो ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उप–प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भुकम्पका कारण नेपालमा ठुलो धनजनको क्षति भएको बताउँदै भुकम्प पिडित नेपाली जनताको घाउमा सहयोग गरी मल्लम लगाउनका लागि कोरियाली कम्पनीहरु पनि सामेल भएकोले नेपाल सरकार खुसी भएको बताए ।
उनले आगामी दिनमा कोरियाको प्राइभेट कम्पनीहरुले भुकम्प प्रतिरोधी घरहरु बनाउनको लागि नेपाल सरकारलाई सहयोग गर्ने अपेक्षा पनि राखेको सो कार्यक्रममा जानकारी दिए ।
सो कार्यक्रममा कोरियाली कम्पनी सिनु पि डव्लुका अध्यक्ष छोइ एङ सुले आफुहरुले धेरै घरहरु बनाउने योजना बनाएपनि एयरपोर्टबाट सामग्री निकाल्नको लागि कठिन भएकोले अहिले धेरैघरहरु बनाउन नसकिने बताए ।
उनले सरकारले आफुहरुलाई सहजै सामग्री ल्याउन दिएमा थप ६०० वटा घरहरु बनाएर सरकारलाई हस्तान्तरण गर्न सकिने समेत जानकारी दिए ।
कार्यक्रममा विश्व निकेत उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल गिरिले दक्षिण कोरियाको कम्पनीले आफ्नो विद्यालयलाई भुकम्प प्रतिरोधी भवन बनाईदिएकोमा खुसी व्यक्त गरे ।
विद्यालयमा कक्षा १२ सम्ममा २५ सय विद्यार्थीहरु रहेको र अझै धेरै भवनहरुको आवश्यकता रहेको बताउँदै गिरिले सो कम्पनीले थप तीनवटा भवन बनाईदिने बचन दिएको समेत जानकारी दिए । कार्यक्रमको संयोजक इजी पिपुल सप्लायर्सका अध्यक्ष कौशल नहकर्मीले गरेका थिए ।
प्रतिक्रिया