वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युवालाई स्वदेशमै रोजगारी दिने अर्थमन्त्रीको दावी

अर्थटुडे
२०७१ असार ६, शुक्रबार

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले विदेशीन बाध्य युवाहरुलाई स्वदेशमै रोजगारी दिने घोषणा गरेका छन् । कृषि क्षेत्रमा काम गर्न चाहाने युवाहरुलाई सस्तो व्याजदरमा ऋण प्रवाह गरी उनीहरुको सिप र जाँगर सदुपयोग गरिने उनले बताए । arthamantri

शुक्रबार नेपाली कांग्रेस सिराहाका नेता तथा जिल्ला विकास समिति सिराहाका पूर्व सभापति चन्द्रनारायण यादवको १४ औं स्मृतिसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आगामी बजेटमा पूर्वाधारका क्षेत्रमा व्यापक मात्रामा लगानी जुटाएर उच्च आर्थिक बृद्धि हासिल गरिने र स्वदेशभित्रै रोजगारीका अवसरहरु सिर्जना गरिने दावी गरे ।

“युवाहरु ५० डिग्रीको तातोमा गएर काम गर्न तयार छन । तर, नेपालमा बसेर काम गर्न तयार रहेका छैनन्” महतले भने, “आगामी बजेटमार्फत युवाहरुलाई सस्तो व्याजदरमा कर्जा उपलब्ध गराई कृषि क्षेत्रमा उनीहरुको जाँगरलाई सदुपयोग गरिनेछ ।”

कृषि क्षेत्रमा रोजगारी सिर्जनाका प्रशस्त अवसरहरु रहेको उल्लेख गर्दै उनले भने, “आगामी बजेटमा उत्पादन बृद्धि र बजारीकरणका लागि समेत आवश्यक व्यवस्था गरिनेछ । युवाहरुलाई स्वदेशभित्रै परिवारको रेखदेख गर्दै काम गर्ने अवसर मिलाइनेछ ।” आगामी बजेटमा कृषिका अतिरिक्त उर्जा, पर्यटन तथा अन्य ग्रामीण पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ कार्यक्रम बनाई बजेट बिनियोजन गरिने पनि उनले जानकारी दिए ।
उनले कांग्रेसको सरकारले बिगतमा अवलम्वन गरेको उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आकार बढेको, राजस्व बढी असूली हुन थालेको र बढेको राजस्व ग्रामीण क्षेत्रको विकासमा खर्च गर्ने गरेको दावी गरे । स्वदेशभित्रै स्रोत जुटेपछि कुल विकास बजेटको ७० प्रतिशतभन्दा बढी रकम ग्रामीण क्षेत्रमा खर्च गर्न थालिएको छ । अहिले हरेक जिल्ला सदरमुकामहरुमा सडक सञ्जाल बिस्तार भएको, स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी बढाइएका कारण बाल मुत्युदर घटेको, मातृ मृत्युदर घटेको र नेपालीको औषत आयु बीस बर्षअघिको तुलनामा १४ बर्षले बढेर ६९ बर्ष पुगेको अर्थमन्त्री महतले  बताए ।
अझै ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको चर्चा गर्दै अर्थमन्त्री महतले ती नेपालीलाई गरिवीको कुचक्रबाट माथि उठाउनु अहिलेको चुनौती भएको बताए । साधन र स्रोतले नेपाल कहिल्यै गरिव नभएको उल्लेख गर्दै उनले उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग गरेर उच्च आर्थिक वृद्धि हासिल गरिने र रोजगारी सिर्जना गरी गरिवी घटाइने जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ